![]()
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं, ४ असोज / महोत्तरी, सोनमा गाउँपालिका-२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् । सोही नगरपालिका-७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नवलपरासी (पश्चिम), पाल्हिनन्दन गाउँपालिका-१ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिटबाट मृत्यु भएको छ । उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, ४ असोज/ झापा, मेचीनगर नगरपालिका-४ राईसिंगस्थित नेपाल भारत सिमा क्षेत्रबाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाहुनडागी र बिओपी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका-१० रामबजार बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गौबध गरेको अभियोगमा १० जना पक्राउ
मकवानपुर, ४ असोज / गौबध गरेको अभियोगमा बकैया गाउँपालिका-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लोहार लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बकैया गाउँपालिका-११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई ५० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
स्याङ्जा, ४ असोज / पुजतलीबजार नगरपालिका-१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
भक्तपुर, ४ असोज / सूर्यविनायक नगरपालिका-७ गुण्डु सोमेडाँडा बस्ने सिन्धुली रत्नवती गाउँपालिका-६ घर भएका २३ वर्षीय तिर्थ बहादुर तामाङलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय थरई तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी खुर्पा प्रहार गर्दा घाईते भएका तिर्थलाई मध्यपुर अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज रिफर गरिएको र अवस्था बोल्न नसक्ने रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी मृत्यु
काठमाडौं, ४ असोज / भक्तपुर, झापा र सुनसरीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित सडकमा लु.४ त ४६८२ नम्बरको ट्याक्टर ईन्जिनको भाग माथि उठी आफैं अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक भक्तपुर बालकोट बस्ने बर्दिया राजपुर घर भएका २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको छ ।
ट्याक्टरको स्टेरिङमा च्यापिन गई गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, अर्जुनधारा नगरपालिका(२ घर्लेनी टोलस्थित सडकमा ना.१ क ५४०० नम्बरको क्रेनबाट लडेर मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनका कामदार सप्तरी बोधेबर्साइन बस्ने ३५ वर्षीय जोगेन्द्र प्रसाद साहको आइतबार साँझ मृत्यु भएको छ ।
उक्त क्रेनबाट लडि क्रेनको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ सेउती जंगलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ ग्रामथान गाउँपालिका-३ बस्ने २१ वर्षीय रोशन भगतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नरसिंह अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
काठमाडौं, ४ असोज / काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० हिरा इँटाभट्टामा काम गर्ने रनियापुर नगरपालिका-१९ घर भएका २७ वर्षीय पूर्ण बहादुर तामाङको इँटाभट्टा नजिकै ईनारमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको ओम समाज अस्पताल सिप्रदी हुँदै ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-६ शिवनगर बस्ने सन्तोष नेपालीकी छोरी ८ वर्षीया सुवश्री परियारको सोही ठाउँस्थित ग्वाङखोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
उक्त खोलामा डुबेर अशक्त भएको अवस्थामा बाख्रा गोठालाले देखेर खोलाबाट निकाली उनका बुबा समेतले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, गुलरिया नगरपालिका-८ आशापुर बस्ने प्रमोद लोधकी छोरी १२ वर्षीया साल्मा लोधको घरबाट ३ किमि टाढा रहेको सुजरपुर नालामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
बुबाआमासँग उक्त नाला नजिकै खेतमा गएको अवस्थामा नालामा डुबेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरिया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
काठमाडौं, ४ असोज / काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-३ रुद्रेश्वरमा ढल खन्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ पासिकोट बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रबिन तामाङको आइतबार साँझ मृत्यु भएको छ ।
ढलान फुटाउने मेसिनबाट करेन्ट लागि गम्भीर घाईते भएका उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, कमला नगरपालिका-३ मालपट्टीस्थित सडकमा धानको भुस राखी ल्याउँदै गरेको बा.३ ख ९६९८ नम्बरको ट्रकलाई विद्युतको तार लौरोले पन्छाउँदै अघि बढाउँने क्रममा आइतबार दिउँसो करेन्ट लागेर महोत्तरी सोनवा गाउँपालिका-५ खैरवनी बस्ने ३० वर्षीय शत्रुधन यादवको मृत्यु भएको छ ।
करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरी चौकी माचीबाट खटीएको प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बाजुरा, ४ असोज / बुढीनन्दा नगरपालिका-१ सेरकोट चौरबाट करिब १ सय ५० मिटर टाढा कोदोबारीमा सोही नगरपालिका-२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक कञ्चनपुर पुनर्बास नगरपालिका-५ “ग” गाउँ घर भएका ३५ वर्षीय गणेश रेग्मी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ४ असोज / काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित भिम बहादुर कार्कीको एपरेक्सन रेडिमेड कपडा पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
