Loading

‘तपाईंको मास्क खोई ?’ कार्यक्रम

काठमाडौं, २ असोज / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ९ सय ७४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३५ हजार ९ सय ९५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६१ जनालाई ६ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३ सय ४३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ३२ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ५२ जनालाई सचेत गराइएको छ ।

जाली नेपाली नोट सहित १ जना पक्राउ
महोत्तरी, २ असोज / औरही नगरपालिका(१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उक्त बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रेडपाण्डाको छाला सहित ४ जना पक्राउ
सुर्खेत, २ असोज / वीरेन्द्रनगर नगरपालिका(८ खजुरास्थित मानसरोबर होटलबाट १ थान रेडपान्डाको छाला सहित दैलेख नारायण नगरपालिका(१० बस्ने २१ वर्षीय पुर्ण बहादुर बस्नेत लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा रेडपाण्डाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटलको १ सय १५ नम्बरको कोठाबाट उक्त छाला फेला पारी उनीहरुलई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
चितवन, २ असोज / राप्ती नगरपालिका(९ सितलटोल बस्ने ५९ वर्षीय कान्छा लामाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय दशरथ मल्ललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु बिच झै(झगडा हुँदा दशरथले फलामको रडले टाउकोमा प्रहार गर्दा लामाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट अमृतपानी र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
काठमाडौं, २ असोज / काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने तेन्जिङ छोपाकको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने चितवन घर भएका ४२ वर्षीया ओम माया गुरुङ लगायत २० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ७४ हजार ७५ रुपैयाँ, २० बुक तास, २८ थान चेक र क्वाइन ४ सय ६४ पिस सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ति डेरा गरी बस्ने उदयपुर घर भएका ३६ वर्षीय पुर्ण बहादुर मगरको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीया निर्मला तामाङ लगायत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ घुरेली बस्ने नन्द बहादुर अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय कमल अधिकारी लगायत ४ जनालाई गएराति प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६५ हजार रुपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध गाँजा बरामद
काठमाडौं, २ असोज / सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुबा टोलबाट करिब १४ केजी १ सय ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा प्लाष्टिकको बोरा भित्र उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार यादवको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, कोशी गाउँपालिका-७ स्थित कोशी नदीको किनारको झारीमा वेवारिसे अवस्थामा रहेको करिब ६० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानामा अवैध लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु
धनुषा, २ असोज / मिथिला नगरपालिका-६ ढल्केवरस्थित सडकमा स. ५ प ५९२६ नम्बरको मोटरसाइकल र लु.७२ प ४७९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स.५ प ५९२६ नम्बरको मोटरसाइकल चालक सिरहा बिष्णुपुर नगरपालिका बस्ने ३० वर्षीय रुपेश कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका लु.७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषा गणेशमान चारनाथ नगरपालिका-६ बस्ने ४३ वर्षीय मोहमद हासिमलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
बर्दिया, २ असोज / ठाकुरबाबा नगरपालिका-३ गोदाना बस्ने ३५ वर्षीय बालकृष्ण थारु लगायत ३ जनाको करेन्ट लागेर शुक्रबार राति घटनास्थलमै मत्यु भएको छ ।

खेतमा पानी लगाउन गएको उनीहरु सोही ठाउँ बस्ने ८२ वर्षीय राज बहादुर शाहीले खेतमा बँदेल मार्न भनी करेन्ट फिट गरेकोमा सोही करेन्ट लागेर तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बग्नहाबाट खटिएको प्रहरीले राजबहादुरलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु
काठमाडौं, २ असोज / रौतहट, देवाही गोनाही नगरपालिका-६ कर्कच बस्ने मोहन लाल साह तेलीको छोरी २ वर्षीया ज्योती कुमारी साहको आफ्नै घर छेउमा रहेको सिंचाई नहरको पानीमा खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
तनहुँ, बन्दिपुर गाउँपालिका-५ थुम्का बस्ने १९ वर्षीया मनिका नेपालीको आबुखैरेनी गाउँपालिका-१ आधीँखोला कतुसेरुवामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-५ माझिबगरस्थित ईन्द्रावती खोलामा डुबेर सोही नगरपालिका-५ सूर्यकोट बस्ने ५५ वर्षीया जुना सार्की शुक्रबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, २ असोज / रुपन्देही, बुटवल उपमहानगरपालिका-८ बेसक्याम चोकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुङगा, सिद्दिचरण नगरपालिका-३ स्थित उतिस्ने खोल्सामा सोही ठाउँ बस्ने ३५ वर्षीय कुमार बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछाप, मन्थली नगरपालिका-२ स्थित तामाकोशीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, २ असोज / सर्लाही, हरिवन ननगरपालिका-८ चापिनीस्थित प्रमोद भट्टराईले संचालन गरेको फर्निचरमा बिश्वकर्मा पुजामा बालेको अगरबत्तीबाट सोही स्थानमा पुजा गर्न राखेको प्र.३-०१-००३ क ५८७५ नम्बरको टिपरमा शुक्रबार राति आगलागी हुदाँ टिपरको अगाडीको भाग र ईन्जिनको भाग पूर्णरुपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-८ जितपुर बस्ने तारा बहादुर विष्टको घरमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुदाँ नगद २५ हजार रुपैयाँ, काठपात, लत्ताकपडा, अन्नपात समेत जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सर्लाही, कौडेना गाउँपालिका-५ बस्ने बिजय रामले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको बिआर ०६ बिएल २१११ नम्बरको मोटरसाइकलमा गएराति अचानक आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयवासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।