![]()
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवा र शपथ ग्रहण गरेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् । लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराएका छन् ।
मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएका थिए ।
नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्नुका साथै सत्ता साझेदार दल हो । रिक्त रहेका मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । सोही अनुसार एकीकृत समाजवादीले तामाङ र बोहरालाई मन्त्री बनाएको छ ।
तामाङ कञ्चनपुर जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् भने बोहरा बझाङबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् । राज्यमन्त्री बोहरा नेकपा एमालेमा विवाद हुँदा अध्यक्ष केपी ओली पक्षमा खुलेकी थिइन् ।
