![]()
काठमाडौं, ३० भदौ । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य पत्रकार विन्दुकुमार चौहानको भदौ ३० गते भएको दुःखद निधन भएकोप्रति संगठन स्तब्ध भएको जनाइएको छ ।
निमोनियाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि यूनिभर्सल कलेज अफ मेडिकल साइन्स, शिक्षण अस्पताल भैरहवामा उपचारको क्रममा चौहानको आज विहान ४५ वर्षको उमेरमा निधन भएकोप्रति दुःख व्यक्त गर्दै प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले शोक बिज्ञप्ती जारी गरेका छन्
लुम्बिनी सांस्कृतिक नगरपालिका, ११, रुपन्देही स्थायी घर भएका चौहान २०५५ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील थिए । स्वाभिमानी, संघर्षशील, निर्भिक, इमान्दार पत्रकारको उच्च छबि बनाएका पत्रकार चौहानले सधैँ सत्य र परिवर्तनको पक्षमा पत्रकारिता गर्दै आएको बिज्ञप्तीमा उल्लेख छ ।
पत्रकार चौहानको निधनबाट प्रेस संगठन नेपालले एक जिम्मेवार नेतृत्व र सिंगो देशले असल पत्रकार गुमाएको जनाइएको छ । पत्रकारिताका माध्यामबाट समाज रुपान्तरणमा चौहानले पु¥याउनुभएको योगदानका लागि प्रेस संगठन नेपालले दिवंगत चौहानप्रति उच्च सम्मान व्यक्त गरेको छ । भौतिक रुपमा विदा भए पनि देशको राजनीतिक परितर्वन, सामाजिक रुपान्तरण र पत्रकारिताको उत्थानका लागि पुर्याएको योगदानले पत्रकार चौहान सधैँ बाँचिरहने संगठनको ठहर छ । ।
प्रेस संगठन नेपालले दिवंगत पत्रकार चौहानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
उनको परिवारमा श्रीमती, चार छोरा र तीन छोरी छन् । उनको आजै लुम्बिनीको कोठीघाटमा अन्त्येष्टि गरिएको छ ।
