Loading

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।

सुदूरपश्चिममा माओवादी केन्द्रका मानीय मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा प्रदेश स्थापनाकालदेखि नै सरकार  रहेको छ । भट्टको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले निर्णय गरेको हो । 

सरकारमा एकीकृत समाजवादीका दुईजना मन्त्री रहेका छन् । उनीहरू एमालेमै रहँदा सरकारमा सहभागी भएका थिए । एमाले विभाजनपछि उनीहरूले एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य छन् ।

सोमबारको बैठकले संसदीय दलको नेता चयन गर्न नसकेपनि विधान मस्यौदा समिति भने बनाएको छ । प्रदेश सभा सदस्य प्रकाश रावलले सांसदहरू दुर्गा विक, अमर साउँद र कुलबिर चौधरी रहेको समिति बनाएको बताए ।

‘विधान मस्यौदा समितिले भोलि नै बस्ने दलको बैठकमा मस्यौदा पेश गर्छ,’ सांसद रावलले भने, ‘त्यसपछि दलको नेता चयन लगायतको काम हुन्छ।’