Loading

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका थप तीनजना सांसदले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन्।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र पूर्वमन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन्। सोडारी एमाले कैलाली र तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन्।

दुवैजना पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए। यसअघि आफू एमालेमै रहने बताएका पूर्वमन्त्री रावल पनि समाजवादीमा लागेका छन्। योसँगै प्रदेशमा समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ। १० जना सांसदले गत बुधबार नै समाजवादीको पक्षमा सनाखत गरिसकेका थिए। प्रदेश सभामा एमालेभन्दा समाजवादी ठूलो दल बनेको छ। एमालेका सभामुखबाहेक २४ मध्ये १३ जनाले समाजवादी रोजेपछि एमालेको संख्या ११ जनामा खुम्चिएको छ।

एमाले विभाजनअघि माधव नेपाल समूहमा १७ जना थिए। नेपालनिकट आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह, राज्यमन्त्री अर्चना गहतराज, सांसद हर्कबहादुर कुँवर र कृणराज सुवेदीले आफू एमालेमै रहने बताउँदै आएका छन्।

प्रदेश सभामा नेपाल समूहमा पनि भीम रावलको बलियो पकड थियो। तर, रावलले नेपालको साथ छोडेपछि प्रदेश सभामा उनको पकड कमजोर भएको छ। १७ मध्ये चारजनाले मात्र रावललाई साथ दिएका छन्। एमाले रोजेका कुँवर रावलका आफ्नै भिनाजु हुन्। 

एमालेमा ओलीनिकट सातजना मात्र थिए। हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादीका दुई सांसद छन्। एकजना थपिए समाजवादी ठूलो दल बन्नेछ। मन्त्री सोडारीले समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बन्ने दाबी गरे। 

‘दल रोज्ने समय अझै दुई दिन बाँकी छ । एक–दुईजना साथीहरूसँग छलफल भइरहेको छ । हामी कम्तीमा १४ जना पुर्‍याउँछौँ,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादी प्रदेशमा सबैभन्दा ठूलो दल बन्छ।’

सरकारको बहुमत गुम्न नदिने उनले दाबी गरे। प्रदेश सरकारको बहुमत कायम राख्ने गरी कम्तीमा थप एकजना सांसद समाजवादीमा खुल्ने सोडारीको दाबी छ। ५२ सदस्यीय प्रदेश सभामा प्रदेश सरकार बहुमतमा रहिरहन २७ सांसद आवश्यक पर्छ। सरकारमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन कायम राख्ने गरी संख्या पुग्ने एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका तामाङले दाबी गरे।

नयाँपत्रिका डटकमबाट