Loading

मकवानपुर, १५ भदौ । माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
आज मङ्गलवार नेकपा एमालेका १२ प्रदेश सभा सांसदले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरू एकीकृत समाजवादी पार्टीमा आबद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिएका हुन् ।

हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसदले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउनासाथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दाबी गर्ने स्पष्ट पारे ।

आउँदो भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको सङ्ख्या सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले सांसद सङ्ख्या सार्वजनिक गर्नेबित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए ।

उनले भने, ‘यो सनाखत भएको छ, अरू साथी पनि थप हुन्छन् । २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिइन्छ । त्यो नाम दिइएपछि हाम्रो सांसदको सङ्ख्या यति छ भनेर संसद् सचिवालयमा पेस गर्छौँ । त्यो पेस गरेको दिनदेखि नै अहिलेको सरकार अल्पमतमा पर्‍यो । यो सरकारको अर्को ठाउँ छैन । अरू सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन । अबको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाई नै अघि सारिएको छ । सबै दलको सहमतिको क्यान्डिडेट हो म ।’