![]()
धनगढी, १२ भदौ । नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विकले एमाले छाडेकी छन्। विकले एमाले छाडेर आफू माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेको बताएकी छन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन्।
विकाले आफूले विगतमा एमाले हुँदा पनि माधव नेपाल समूहकै नीति, सिद्धान्तलाई आत्मसात् गरेको बताएकी छन्। ‘सुदूरपश्चिमबाट हामी सबैले एक ठाउँ उभिएर केपी ओलीलाई धक्का दिएका थियौं‚’ उनले भनिन्‚ ‘विगतमा पनि हामीले समानान्तर कमिटी नै बनाएर अगाडि बढिसकेको अवस्थामा प्रतिगमनकारीसँग अब समन्वय र सहकार्य हुँदैन।’
विक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक सांसद हुन्। एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी उनी विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिंदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन्।
