![]()
काठमाडौँ, ६ भदौ । नेता माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा परेपछि आफूले नयाँ दललाई सघाउने संकेत गरेका नेता नेता वामदेव गौतमको बोली फेरिएको छ। उनी एमालेमै रहेको उनको सचिवालयले दाबी गरेको छ। एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार आपत्ति जनाएको हो।
‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो।’
बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि वामदेवको सचिवालयको भनाइ छ। गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने बताएका नेता गौतमले किन बोली फेरे भन्नेबारे एमालेवृत्तभित्र विभिन्न आशंकाहरु व्यक्त हुन थालेका छन्।
गौतमलाई कुनै हालतमा मन्त्री बनाउन नहुने मत चर्को
प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो लागेको छ ।
स्रोतका अनुसार एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको हो ।
नेपाल पक्षले ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री पाउने तय भएको स्रोतको भनाई छ । दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।
माधव नेपाललाई साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधी चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले पनि इच्छा व्यक्त गरेका थिए । तर सो पार्टीभित्रैबाट गौतमलाई कुनै हालतमा मन्त्री बनाउन नहुने मत चर्को रुपमा आएको स्रोतको दाबि छ । गौतमलाई कुनै पनि मन्त्रालय दिन नहुने चर्को आवाज उठेपछि गौतमको सचिवालयले उनी माधव नेपालको पार्टीमा नरहेको सन्देश सामाजिक सञ्जालबाट आएको माधव नेपाल निकट एक नेताले झिल्कोलाई बताए ।
साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित नेपालनिकट स्रोतको भनाई छ ।
जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।
माधव नेपालको पार्टीले उपसभामुख पनि पाउन सक्ने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ ।
