Loading

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एकलौटी ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएको छ । 

मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भने, “हामी २२ जना सांसदहरु भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितिको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भयो, हाम्रा लागि अध्यादेश आएको होइन, हामी त ३०/४० प्रतिशत नै छौँ, बरु महन्थ ठाकुरजीहरुका लागि सजिलो पार्न २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश आएको होला, केपी ओलीले जालझेल गरेर गरेका निर्णयहरु फिर्ता नलिए आवश्यकताले अघि बढ्छौ, केपीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ, हामी अन्तिमसम्म एकता होस् भन्ने प्रयत्न गर्नेछौँ ।”

बैठकमा माधव पक्षका नेताहरुले सरकारले ल्याएको अध्यादेशका विषयमा पनि छलफल गरेका थिए । ओली पक्षको बैठकले राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने सरकारको निर्णय लगत्तै केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको थियो । 

मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमाले केपी ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो । अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंगलबार थप नाम थपेर २६० सदस्य रहेको विवरण आयोगमा पठाएको हो । 

नेपाल पक्षमा २४ सांसद, गौतमको पनि साथ

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरु यतिबेला छलफलमा जुटेका छन् । नेता नेपालले नयाँ बानेश्वरस्थित होटल अर्यालमा आफूलाई साथ दिने सांसदहरुसँग छलफल गरिरहेका छन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरेका हुन् । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

आजको बैठकमा भने यसअघि केपी ओलीलाई साथ दिएका वामदेव गौतम पत्नी तुलसा थापा र माया ज्ञवाली पनि माधव नेपाल पक्षको बैठकमा सहभागी छन् । पार्टी विभाजनको स्थितिमा कसकसले साथ दिने भनेर नेपालले एक एकलाई सोधिरहेका छन् । केन्द्रीय सदस्यहरुलाई आजै दल दर्ता गर्नुपर्ने हुनसक्ने भन्दै तयार रहन भनेका छन् ।

भीम रावलसहित संस्थापन पक्षसँगको वार्तामा रहेका कार्यदलका सदस्यहरू भने बैठकमा देखिएका छैनन् । तर उनीहरू पनि आउने केन्द्रीय सदस्य गंगालाल तुलाधरले जानकारी दिएका छन् । यसैबीच, एमालेका उपाध्यक्ष बामदेव गौतमले पनि माधवकुमार नेपाललाई साथ दिने भएका छन् । गौतमकी श्रीमती तुलसा थापा समेत बैठकमा सहभागी भइरहेका छन् ।