![]()
मुकुन्द न्यौपाने
झगडाका कारण जेसुकै हुन सक्छन् । तर, स्थितिलाई समाल्ने कसरी ? नेतृत्वले यसको ठीक अध्ययन गर्ने र ठीक तरिका निकाल्न नसक्ता सधैँ भद्रगोल मच्चिने गर्छ र यसले कतिपयको दिमाग ऋणात्मक बन्दै जान्छ र भद्रगोल भित्रै रमाउने बानी पर्छ । यस्तो अवस्थामा स्थितिलाई समाल्ने ठीक तरिका के हो त ? त्यसबारेमा पनि गहिरेर अध्ययन गर्नुपर्ने बेला भएको छ । यसलाई सबैले मनन गर्नुपर्छ
नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीको नेतृत्वले पार्टीभित्र तर्क शैलीको विकास नगरेर बिस्तारै हरेक कमिटीभित्र बहसको परम्परालाई कमजोर बनाउँदै लग्यो । जसको परिणाम पार्टीको नेतृत्व तहदेखि तलसम्म तर्कहीन बहसले आक्रोश पोख्ने र आफ्ना गल्ती ढाकछोप गर्ने प्रवृत्ति मौलाउँदै गयो । जसको परिणाम व्यक्ति बलिया जस्ता भए पनि पार्टीलाई त्यसले बल पुर्याएन ।
तर्क र बहसमा के फरक छ ?
तर्कयुक्त बहसमा ज्ञान पैदा हुन्छ भने, तर्कहीन बहसमा आक्रोश मात्रै पैदा हुन्छ । बहस अहंकारको बन्द दिमागबाट निस्कन्छ भने, तर्क खुल्ला दिमागबाट ज्ञानको बृद्धि गर्ने इच्छाले । अरू बढी सिक्ने भावनाले । बहसमा अज्ञानताको आदानप्रदान हुन्छ तर्कमा ज्ञानको । तर्कहीन बहसमा मानिसको असमझदारीको स्वभाव थाहा हुन्छ भने तर्कमा समझदारीको । जसको मनमा पहिलेदेखि नै असमझदारी र अंहकारको बिचार जमेर बसेको छ त्यस्तो ब्यक्तिसँग बहस गरेर कुनै निचोडमा पुगिँदैन । त्यसले विवाद मात्रै बढाउँछ ।
एउटा सानो दिमाग र स्वार्थी मुखले जहिलेसुकै पनि विनाआधारको बहस उत्पन्न गर्छ । ऊ तर्कदेखि डराउँछ तर्क गर्नुको मतलब अरू मानिसलाई आफ्ना बिचारहरू विनारोकावट भन्न दिनु हो र उसका कुरा धैर्यतापूर्वक सुन्ने शक्ति ग्रहण गर्नु हो । उसलाई आफ्ना मनका राग निकाल्ने मौका दिनु पनि हो ।
झगडाका कारण जेसुकै हुन सक्छन् । तर, स्थितिलाई समाल्ने कसरी ? नेतृत्वले यसको ठीक अध्ययन गर्ने र ठीक तरिका निकाल्न नसक्ता सधैँ भद्रगोल मच्चिने गर्छ र यसले कतिपयको दिमाग ऋणात्मक बन्दै जान्छ र भद्रगोल भित्रै रमाउने बानी पर्छ । यस्तो अवस्थामा स्थितिलाई समाल्ने ठीक तरिका के हो त ? त्यसबारेमा पनि गहिरेर अध्ययन गर्नुपर्ने बेला भएको छ । यसलाई सबैले मनन गर्नुपर्छ ।
१. कमिटीको बैठकमा बसौँ र अरूको कुरा पनि धैर्यतापूर्वक सुनौँ ।
२. झगडा र प्रतिउत्तर दिने काम नगरौँ । अरूले राखेको जिज्ञासाको बेलामा जवाफ दिनुपर्छ । अरू बोलीरहेको बेला बीचमै जवाफ दिने काम नगरौँ । यो तर्क शैली होइन, वहस शैली हो । त्यसमा बिचार पु¥याउनुपर्छ ।
३ं. केही मानिसलाई आफ्ना गल्तीप्रति आत्मालोचना गर्न निकै कठिनताको अनुभव हुन्छ । उनीहरू आत्मालोचनालाइ एकैपटक धुरीबाट तल खसे बराबर ठान्दछन् । आत्मालोचनाले मान्छेलाई सुध्रने मौका दिन्छ यसबारेमा नेतृत्व प्रष्ट हुनपर्छ । आत्मालोचनाले कोही सानो हुँदैन ।
४. यस्तोमा हामीले अन्तर्राष्ट्रिय अनुभवहरूबाट पनि सिक्नु पर्दछ । चिनियाँ कम्युनिस्ट पार्टीमा तेतिसको चुनइ सम्मेलनपछि वाङमिङलाई माहासचिवबाट हटाइयो । केन्द्रीय कमिटीमा राख्ने कि नराख्ने भन्ने बारेमा केन्द्रीय कमिटीमा गम्भीर छलफल चल्यो । बहुमत सदस्यहरू नराख्ने भन्ने मतमा गए । माओत्सेतुङ उनलाई केन्द्रीय कमिटीमा राख्ने पक्षमा उभिए । धेरै तर्क वितर्कपछि वाङमिङलाई आत्मालोचना गराएर राख्ने निर्णय भयो । उनलाई आत्मालोचना गराउने जिम्मा केन्द्रीय कमिटीले माओत्सेतुङलाई दियो । वाङमिङले चार दिनको समय मागे । चार दिनपछि माओत्सेतुङ् उनीसँग आत्मालोचनाको पत्र लिन जांँदा वाङमिङ् ओछ्यानमा सुतिरहेका रहेछन् । आत्मालोचनाको पत्र लिन गएका माओसँग उनले भने, ‘मेरो मनले आत्मालोचना गर्न मानेन जे गर्नु हुन्छ गर्नुस्’ उनको कुरा सुनेर माओ खाली हात फर्किएर आएर केन्द्रीय कमिटीलाई कन्भिस गरेर उनको आत्मालोचनाविना नै केन्द्रीय कमिटीमा राख्ने प्रस्ताव राखेर भने, ‘साथी हो वाङमिङ पेटी बुर्जुवाको झण्डा हो चीन पेटी बुर्जुवा बाहुल्यता भएको देश हो त्यसैले उसलाई सडकमा छरिन दिएर पेटी बुर्जुवाको झण्डा प्रदर्शन हुन दिनुभन्दा आफ्नै कोठामा थन्क्याउनु उपयुक्त हुन्छ । फोहोरलाई सडकमा छरेर दुर्गन्ध फैलन दिनुभन्दा घरभित्रैको बाकसमा राख्नु बेस हुन्छ ।’ माओले बहस होइन, तर्क गरे तर्कले सिंगो पार्टीलाइ सधैँ एकजुट बनाएर लग्यो । लेनिनले तर्क गरे पार्टीलाइ गोलबन्द गर्दै अक्टोबर क्रान्ति गरे समाजवादको ढोका खोले । आज विश्व उनीहरूबाट सिक्दै अगाडि बढ्दै छ ।
५. नेपालको कम्युनिस्ट आन्दोलनमा जहिलेसुकै पनि सत्यलाई आत्मसात गर्ने र आफ्ना गल्तीलाई जस्ताको तस्तै स्वीकार गर्ने कुराको विकास हुन सकेन । नेपालका कम्युनिस्टहरू श्रमिक बर्गको श्रेणीमा रूपान्तरण हुनुभन्दा निम्न पुँजीपति बर्गबाट धनाढ्य वर्गमा रूपान्तरण भए । सरकारमा सहभागी हुनुभन्दा अघि कांग्रेस र कम्युनिस्ट नेताहरूको वर्गीय हैसियत असमान थियो । सरकारमा सहभागी भएपछि आज दुवैको आर्थिक हैसियत समान छ व्यवहार समान छ । यसै कारण वर्गीय विभेदकारी चिन्तनको सामाजिक संस्कार आज पार्टीभित्र हाबी हुँदै जानु र सम्मानको तृष्णा र अहंकारका डफली बज्नु यसको मुख्य कारण हो र ‘आर्थिक हैसियतले सामाजिक हैसित निर्धारण गर्छ’ भन्ने माक्र्सवादको एउटा तथ्यपरक तर्क पनि हो ।
६.तर्क गर्नुको मतलब ठीक समयमा ठीक कुरा गर्नु मात्र होइन, बरु बेठीक कुराहरू नभन्नु पनि हो ।
७. माथिल्लो नेतृत्वले तलका कमिटी मातहतका कार्यकर्तालाई के शिक्षा दिने ? एक अर्कालाई सम्मान गर्ने ख्याल गर्ने र एकले अर्कालाई माया गर्ने संस्कार हुर्काउने कि दिनहुँ झगडा बढाउने लफडा मच्चाउने दुरी बढाउँदै कमिटीका बैठकै नचल्ने अवस्थाको सिर्जना गर्ने ? नेतृत्व तहको मुख्य पदमा बस्नेले ठूलो भएको नाताले झगडा नगरीकनै आफ्नो असहमतिलाई सम्मानपूर्वक राख्ने कला सिक्नुपर्दछ । बहसको समयमा एउटा व्यक्तिले आफूलाई कसरी प्रस्तुत गर्छ र कसरी ऊ तर्कबाट चिप्लिएर कुतर्कतर्फ उन्मुख हुन्छ यो प्रष्टै देखिन्छ ।
बहसबाट तर्कमा फर्कने तरिका यस्तो हुन सक्छ
१. खुल्ला र खुल्लस्त होउ जालझेल र षड्यन्त्र नगरौँ ।
२. बहसमा रातोपिरो नबनौँ नतातियौँ ।
३.अरू बोल्दा बीचमा उठेर कुरा नकाटौँ ।
४.आफ्नो बिचार राख्नुभन्दा पहिले अरूका बिचार धैर्यतापूर्वक सुनाँै ।
५. कुरा नसुनी अनुमानमा कसैको खण्डन नगरौँ ।
६.बैठकमा पूर्ण रूपमा बसेर सबैका कुरा सुनाँै र त्यसको समीक्षा गरौँ सत्य कुरालाई नम्रतापूर्वक आत्मसात गरौँ ।
७. कुरा स्पष्ट नभएमा प्रश्नको आदानप्रदान गराँै र प्रष्ट भएर मात्र धारणा बनाऔँ ।
८.कसैको बारेमा पनि कुरालाई बढाइचढाइ पेस गर्ने नगरौँ । जे यथार्थ हो त्यसैका आधारमा बुझेर अगाडि बढौँ ।
९.कुरालाई मनाउन फकाउने दबाउने र धम्काउने नगरौँ । उत्साहित गरौँ र हौसला बढाउने गरौँ ।
१०. सबैका हरेक सही कुरालाई स्वीकार्ने बानी बसालौँ ।
११. साना–साना विषयलाई आफ्नो निजी प्रतिष्ठाको विषय नबनाऔँ ।
१२. नम्र स्वभावमा ठोस तर्क पेस गराँै । नचाहिने बहसमा रातोपिरो बनेर स्वाँस्वाँ र फ्वाँफ्वाँ नगरौँ ।
१३. अज्ञानीसँग बहसमा फसेर उसलाई माथि उठाउने काम नगरौँ । उसका तर्क एकदमै कमजोर र तथ्यहीन हुन्छन् तर बोली तिखो रुखो र अशिष्ट मात्रै हुन्छन् ।
.१४. तर्कमा विचार बिमर्श गर्दा जहिले पनि एउटा कुरा मनमा राख्नुहोस् हुनसक्छ कतै म पनि गलत पो छु कि ? सधैँ सबै मान्छे सत्य नहुन सक्छ । त्यसमा आफू पनि पन्छिन सकिन्छ । त्यसमा पनि हरेकले विचार पु¥याउनुपर्छ ।
