![]()

अनुषा थापा
मेलम्चीको पानी उपत्यकामा आउँदा यसबाट सबैभन्दा बढी छटपटी वाटर प्युरिफाइड कम्पनी र पानी ट्यांकर सञ्चालकहरूलाई भएको थियो । उनीहरूको मनमा अब जनता ठग्न नपाइने भयो, हाम्रो बिजनेस ब्यापार सुक्नेभयो भन्ने ठुलो पिर परेको थियो । मेलम्चीको पानी सस्तोमा उपभोग गर्न पाइने भो भनेर हर्षोउल्लास मनाएका उपत्यकावासीहरूको खुसी पनि २०७८ असार १ गते मेलम्चीमा आएको बाढीसँगै डुब्यो ।
आजभन्दा पाँच/६ दशकअघिका बुबाआमाको भोगाइए अहिले कतिपयलाई उखानजस्तो लाग्न सक्छ । कपियलाई उहाँहरूको कुरा गफै मात्र हो जस्तो पनि अनुभूति हुन सक्छ । तर, ती बुबाआमाका कुराहरूले सत्यता र कुनै अर्थ बोकेको हुन्छ । ती मध्ये एउटा सत्य कुरा : आजभन्दा पाँच÷६ दशकअघि नेपालले अन्य मुलुकमा खाद्य सामग्री निर्यात गथ्र्यो रे ! तर, अहिलेको अवस्थालाई हेर्ने हो भने हामी ससाना खाद्यवस्तु पनि अन्य मुलुकबाट आयात गर्छौं । यस्तो हुनुको महत्वपूर्ण कारण सिँचाइको अभाव पनि हो ।
करिब पाँच÷६ दशकअघि राजधानी उपत्यकाको प्रमुख सहरमा मात्र बजार लाग्थे रे ! अरू सबै ठाउँमा खेतैखेत र फाँटैफाँट मात्र थियो रे ! सिँचाइ पनि आकाशकै पानीले सम्भव थियो । आकाशबाट परेको पानी जमिनले सोस्ने गरेको हुनाले सिँचाइको त्यस्तो केही समस्या हुँदैन थियो रे ! यस विषयमा एकजना बृद्धलाई सोध्दा उहाँले सिधा रूपमा भन्नुभयो, ‘हेर नानी, पहिलेका घरहरू खर, झिँगटी र ढुंगाले छाएको हुन्थ्यो । कहीँ पनि सिमेन्टको प्रयोग गरिएको हुँदैनथ्यो, बाटो पनि ससाना गोरेटो मात्र हुन्थे । जसले गर्दा आकाशबाट आएको पानी सिधैँ जमिनले सोस्थ्यो र ठाउँठाउँमा पानीको मूल फुट्थ्यो । मूलकै पानीले खान र सिँचाइ गर्न पुग्थ्यो । सबै मूलहरू सिमेन्टीका घर बनाएपछि बन्द भइहाल्यो । अहिले खानेपानीको त हाहाकार छ सिँचाइको कुरै छोडौँ ।
यही मौका छोपेर आजभन्दा तीन दशकअघि अर्थात २०४८ सालमा काठमाडांै क्षेत्र नं १ बाट नेपाली कांग्रेसका एकदमै स्वाभिमानी नेता कृष्णप्रसाद भट्टराई पार्टीको टिकट लिएर मैदानमा उत्रिनुभयो । उहाँको एउटै नारा के थियो भने उपत्यकावासीको घरको धाराधारामा मेलम्चीको पानी ल्याउने र मेलम्चीको पानीबाट काठमाडांैको सडक पखाल्ने । तर, उहाँको लागि त्यो चुनाव जित्नु भनेको फलामको चिउरा चपाउनुजस्तो थियो किनभने उहाँको बिपक्षमा एमालेका एकदमै शक्तिशाली नेता उठ्नुभएको थियो । काठमाडौंका बासिन्दाले उहाँको कुरामा विश्बास गरेनन् र उहाँले चुनाव हार्नुभयो ।
उहाँले चुनाव हारे पनि लाखौँ नेपालीको मन जित्नुभयो । किनभने उहाँले वर्षौंदेखि लाखौँ नेपाली जनताले भोगेको समस्याबारे आवाज उठाउनुभएको थियो । त्यतिखेर उपत्यकामा खानेपानीको एकदमै हाहाकार थियो । उहाँले गर्नुभएको त्यो महत्वपूर्ण भाषण तीन दशकपछि पूरा भयो । स्वर्गारोहण भए पनि उहाँले नेपाली जनतामाझ गरेको वचन पूरा गर्नुभएको छ । भट्टराई आज हामी माझ एक उदाहरणीय नेता हुन पुग्नुभएको छ । उहाँले मलाई भोटदिने मतदाताहरूलाई मेलम्चीको पानी खुबाउँछु नभनेको भए आज सायदै उपत्यकावासीले मेलम्चीको पानी देख्न पाउथेँ होला । केहीदिनका लागि मात्र भए पनि उपत्यकाका तीन जिल्लामा बसोवास गर्नेले मेलम्चीको पानी उपभोग गर्न पाए । मेलम्चीको पानी उपभोग गर्न पाउनु भनेको हामी नेपालीका लागि सानो कुरा थिएन ।
भट्टराईले भन्नुभएको कुरा तीन दशकपछि पूरा त भयो र केही सीमित समयका लागि उपत्यकावासीको घरको धाराधारामा मेलम्चीको पानी आयो । मेलम्चीको पानी प्रयोग गर्न पाउँदा उपत्यकावासीमा खुसीको सीमा रहेन । तर त्यो हर्षोल्लास पनि उपत्यकावासीमा धेरै दिन रहन पाएन । केपी ओली सत्तामा भएको बेला मेलम्चीको पानी काठमाडौं आयो र राष्ट्रपतिद्वारा यसको उद्घाटन भयो । तर, यो मेलम्चीको पानी काठमाडौं ल्याउनमा राष्ट्रपति र भण्डारी र प्रधानमन्त्री ओलीको केही पनि त्यस्तो ठूलो भूमिका रहेको थिएन ।
नेपाल जलस्रोतको दोस्रो धनी देश हो । हाम्रो देशमा लगभग ६ हजार खोला तथा नदीनाला छन् । तर खानेपानीको अभाव किन ? यसको एक मात्र कारण हो हाम्रो देशमा सत्तामा बस्नेहरूले आफ्नो बारेमा मात्र सोच्नु । जनता बाँचे बाँचुन्, मरे मरुन् भन्ने मनस्थिति सत्ता चलाउनेहरूको छ । त्यसले गर्दा पनि खानेपानीको हाहाकार भइरहेको अबस्था देखिन्छ । अझै हामीले कतिपय दुर्गम जिल्लामा खानेपानीको लागि भनेर घण्टौँको बाटो हिँड्नुपर्ने पनि सुनेको छौँ ।
खानेपानीको हाहाकार हुनु र यसको एकलौटी फाइदा भने पानी ट्यांकरले उठाइरहेका छन् । पानी ट्यांकरहरूले जमिनमुनिबाट बोरिङ गरेको पानी ल्याएर मँहगोमा बेच्ने गरेको छन् । एक ट्यांकर पानीको ३ देखि ५ हजारसम्म असुलिरहेका छन् । त्यो पनि पिउनलायक छैन । पानी व्यापारीहरूले आधा ट्यांकर पानी ल्याएर खसाल्छन् र पैसा भने पुरै लिन्छन् । अनुगमन छैन । बाटर प्युरिफाइ गरेर बेच्ने कम्पनीको हाल पनि यस्तै छ । एकजार पानीको ५० देखि ८० रुपैयाँ लिन्छन् । जार त सफा हुँदैन वाटर कहाँबाट प्युरिफाइड हुनु ? एक बोत्तल मिनिरल बाटरको २५÷३० रुपैयाँ पर्छ । बोतल जम्मा एकलिटरको हुन्छ । पानी व्यापारीहरूले पानी बेचेबापत पैसा लिन्छन् बिल दिँदैनन् ।
मेलम्चीको पानी उपत्यकामा आउँदा यसबाट सबैभन्दा बढी छटपटी वाटर प्युरिफाइड कम्पनी र पानी ट्रयांकर सञ्चालकहरूलाई भएको थियो । उनीहरूको मनमा अब जनता ठग्न नपाइने भयो, हाम्रो बिजनेस ब्यापार सुक्नेभयो भन्ने ठूलो पिर परेको थियो । मेलम्चीको पानी सस्तोमा उपभोग गर्न पाइने भो भनेर हर्षोउल्लास मनाएका उपत्यकावासीहरूको खुसी पनि ०७८ असार १ गते मेलम्चीमा आएको बाढीसँगै डुब्यो । भन्नुको मतलब मेलम्चीमा गएको बाढीले उपत्यकामा पानी ल्याउने मुहान पनि बगायो ।
कमसल सामानको प्रयोग, र ठेकेदारको लापरबाहीले गर्दा पनि मेलम्चीको पानीको मुहान बग्यो । यसको अनुसन्धान हुन अझै बाँकी छ । मेलम्चीको पानी काठमाडौं नआउँदा यसको फाइदा केही निश्चित व्यक्तिलाई भए पनि हामी आमजनतालाई घाटा भएको छ । केही वर्षअघि पानी बोक्ने ट्रयांकरलाई सरकारले तीन भागमा वर्गीकरण गरेको थियो । चेकजाँच गरी खानयोग्य पानीलाई हरियो स्टिकर, नुहाउन प्रयोग हुने पानीलाई पहेँलो स्टिकर, र घरसफा गर्न प्रयोग हृने पानीलाई रातो स्टिकरमा विभाजन गरेको थियो ।
पानी उपभोग गर्ने उपभोक्तालाई त्यो पानी ट्रयांकर कति लिटरको छ भन्ने जानकारी हुँदैन । यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पानी ट्यांकरको भाडा नतोकिँदा पानी ल्याएबापतको रकम पानी व्यापारीको जिब्रोमा झुन्डिएको हुन्छ । यसरी गुणस्तरहीन पानी बेचेर जनता ठग्दा पनि सम्बन्धित मन्त्रालयको ध्यान जान सकेको छैन् । नेपालमा कति बटा पानी ट्रयांकर सञ्चालनमा छन् भन्ने कुराको डाटा यसको सम्बन्धित मन्त्रालयसँग पनि छैन होला । पानी ट्रयांकरको साहुसँग बुझ्दा उपत्यकामा ६ सय ६९ बटा पानी ट्रयांकर सञ्चालनमा छन् ।
पानी बेच्ने चिज होइन । पानी सबैलाई चाहिन्छ । मानव जातिलाई मात्र नभएर बोटबिरुबा, पशुपन्छी र हरेक सजीवलाई दैनिक जीवनमा पानीको आवश्यकता पर्छ । जिउँदोलाई त पानी चाहिन्छ नै मर्दाखेरि पनि पानी चाहिन्छ । हामी बाटोघाटोमा हिँड्छौँ । बाटोघाटोमा हिँड्दा घरको छतबाट पानी परेर कतिपयको लुगा बिग्रिएको पनि देखेको छौँ । घर बनाइसकेपछि छतमा जमेको पानी कहाँ व्यवस्थित गर्ने भन्ने जिम्मेवारी पनि त्यस घरधनीको हुनुपर्छ । छतमा जमेको पानी फ्याकिँदा बाटो हिँड्नेलाई निकै अवरोध हुनसक्छ । यस विषयमा पनि सम्बन्धित पालिकाको ध्यान जान निकै जरुरी देखिन्छ ।
सौर्य अनलाइनबाट
