Loading

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि जेलमा रहेका रेशम चौधरीसम्म १६ जनालाई हटाएको छ ।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएको भोलिपल्ट बालकुमारीस्थित पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले उनीहरुलाई अटाएको हो ।

निर्वाचन आयोगमा ‘हेड काउण्ट’ मा आफ्नो पक्षमा नउभिएका सबैलाई बैठकले निस्काशन गरेको हो । कारबाहीमा परेकाहरु बाहेकका अन्य ३४ जना सदस्यहरु कार्यकारिणी समितिका रहने जसपाले बताएको छ

लुम्बिनी प्रदेशसभाका ३ सदस्यलाई कारबाही

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

मंगलबार बसेको कार्यकारणी समितिको बैठकले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको नेता मोहमद इस्तियाक राईले जानकारी दिए ।

कारबाहीमा परेका तीनै जना ठाकुर पक्षका हुन् । उनीहरु लुम्बिनी प्रदेश सरकाकारमा समेत सहभागि थिए ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि भएपछि उनीहरुलाई कारबाही गरिएको बताइएको छ ।

उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो ।

जसपाको संसदीय दलको विधान पारित
जनता समाजवादी पार्टी जसपाले संसदीय दलको विधान पारित गरेको छ । बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकल दलको विधान पारित गर्दै दलको नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

दलको नेता चयन प्रक्रियाका लागि जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ रहेको समिति समेत चयन गरेको जसपा नेता डम्वर खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीको अनुशासन उलंघन गरेको भन्दै पदरिक्त हुने गरि प्रदेशसभा सदस्यबाट कारबाही गरेको नेता खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको खतिवडाले बताए ।

बैठकले निर्वाचन आयोगमा सनाखतमा सहभागी भएका ३४ सदस्य नै पार्टीको कार्यकारिणी सदस्य कायम रहने गरि पार्टीको कामकारवाही अघि बढाउने निर्णय गरेको छ । त्यस्तै पार्टीलाई आधिकारीता प्रदान गर्न सहयोग र साथ लिने सवैप्रति बैठक आभार प्रकट गरेको खतिवडाले बताए । जसपाको बैठक बुधबारपनि बस्दैछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने बताइएको छ ।