Loading

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।

‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्‍यौं,’ टोलीमा सहभागी एक नेताले भने, ‘उहाँले त्यसको जवाफ दिनु भएन ।’ पार्टी एकताको लागि राजीनामा दिएको टोलीलाई रावलले जानकारी दिएका थिए । टोलीका सदस्यहरूले राजीनामा फिर्ता लिएरै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका हुन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जनाले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

१० बुँदे सहमति पछि एमाले एकता हुने अपेक्षा गरेको भए पनि त्यो कार्यान्वयनमा चुनौती थपिएको रावलको बुझाइ थियो ।