![]()
काठमाडौं । साहित्य सिर्जनाले रुपान्तरणको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा स्रष्टाले जोड दिएका छन् ।
साहित्य सन्ध्याको ४१८औँ मासिक शृंखलामा उनीहरुले गीत, कविता, मुक्तक, गजलमार्फत समाज रुपान्तरण स्रष्टा लाग्नुपर्ने बताएका हुन् । भर्चुअल रुपमा गरिएको कार्यक्रममा समाज रूपान्तरणमा स्रष्टाको भूमिका तथा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वबारे परिचर्चा गरियो ।
कार्यक्रममा प्रा डा प्रेमकुमार खत्री, नर्मदेश्वरी सत्याल, डा खेमनाथ दाहाल, लक्ष्मी माली, डा बालचन्द्र मिश्र, डा फणिन्द्रराज निरौला, निलहरि शर्मा सुवेदी, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, वैरागी जेठा, खेमराज निरौला, गंगा कर्माचार्य पौडेल, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, श्रीधर पौडेल, रेणुका पोखरेल, चिन्तामणि शिवाकोटी, रमेश गौतम पाल्पाली, देवकी सिग्देल, अनिल पौडेल, चुडा निर्भीक, ललिता दोषी, गोपाल बराल, गायत्रीकुमार चापागाईँ, दुर्गा नेपाली, संगीता दाहाल, ओमप्रसाद कोइराला, सीताराम नेपाल, प्रशान्त खरेल, लक्ष्मी बस्याल, भक्ति घिमिरे, अनु विज्ञती, जयन्ती स्पन्दन, विन्दु ढकाल अधिकारी, रश्मि रिमाल र हरि तिमिल्सिनाले आप्mना कविता, गीत र हाइकु वाचन गरेका थिए ।
कार्यक्रममा प्रा डा खत्रीले विचार र व्यवहारको तालमेल नमिलेको, सोचमा परिवर्तन नआएको, विकृति र अराजकता मौलाएका कारणले समाजमा अपेक्षित रूपान्तरण हुन नसकेको बताउँदै सिर्जनाका माध्यमबाट रूपान्तरण अभियान चलाउन आग्रह गरे । वाचित सिर्जनामाथि टिप्पणी गर्दै प्राज्ञ डा देवी नेपालले वर्गीय चेत, आमाको महिमा, मानवता, स्वाभिमान, गुरुवन्दना, भानुको सम्झना, गाउँको सम्झनाजस्ता विषयमा रचना वाचन भएको बताए ।
उनले प्रगतिशील स्रष्टाका लागि निराशा र पलायन स्वीकार्य नहुने भएकाले समाज रूपान्तरणका लागि आशाको किरण छर्न आग्रह गरे । आदिकवि भानुभक्तको व्यक्तित्व तथा कृतित्वमाथि संक्षिप्त प्रकाश पार्दै विधान आचार्यले अध्यात्म रामायणबाट कथानक मात्र लिएर भानुभक्त आचार्यले रामायणको रचना गरेका हुँदा उनको रामायण मौलिक रचनाका रूपमा रहेको जनाए ।
सन्ध्याका अध्यक्ष राम विनयले साहित्य समाजको ऐना भएकाले यही ऐनालाई सिर्जनाका माध्यमबाट उजागर गरेर सामाजिक रूपान्तरणमा स्रष्टाले कलम चलाइरहनुपर्ने बताए ।
