Loading

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

आफ्नै कारणले संसद पुनस्थापना भएको तर्क अघि सार्दै उक्त समूहले विश्वासको मत दिएर सरकार जोगाउनु पनि आफ्नै दायित्व भनेको छ । सो समूहले पार्टीमा सहमति हुने भनेर कहिले बैठक रोक्न माग गर्ने त कहिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एकताको रटान छोडेको छैन । तर यी सबै अलमलहरु आज देउवालाई विश्वासको मत दिनकै लागि भएको नेताहरुले बताएका छन् ।

अहिले बिहान पनि माधव नेपाल निवासमा विघटित कार्यदलका सदस्यहरु भेटघाटमा बसिरहेका छन् । उनीहरुबीच अहिले छलफल जारी छ । तथापि माधव नेपालले सरकारलाई विश्वासका मत दिएपछि मात्र थप छलफल गर्न सकिने अडान दोहोएका छन् ।

नेपालले कांग्रेस माओवादीको सत्तालाई डेढ वर्षको लागि सुनिश्चित गरेपछि मात्र एमालेमा फर्कने नफर्कने निर्णय गर्ने बुझिएको छ । एमाले सांसद विरोध खतिवडाले आफूहरुले अहिलेसम्म जे अभियान चालेको हो त्यसलाई नै पूरा गर्ने बताए ।

देउवाले प्रधानमन्त्री नियुक्त भएको हप्ता दिन नपुग्दै विश्वासको मत लिनुको कारण पनि माधव नेपाल पक्ष नै भएको नेताहरु बताउँछन् । पार्टीमा सहमति कायम भइहालेमा आफूलाई विश्वासको मत दिन नैतिक संकट पर्ने भएकोले विवादकै बीचमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

झलनाथ खनालको आग्रह- प्रधानमन्त्रीलाई विश्वासको मत दिनुस्

नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्।

भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। उनले अदालतको फैसलाको सम्मान गर्नसमेत भनेका छन्। खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन्।

उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्। देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। आज बजे संसद् बैकठ बस्दै छ।