Loading

काठमाडौं : सूचनाको हक अन्तरगत माग गरिएको सूचना दिन राष्ट्रपति कार्यालयले अस्वीकार गरेको छ। 

शशी विक्रम कार्कीले गत जेठ ९ गते व्यक्तिगत प्रयोजन तथा सुशासन प्रवर्धनको लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम माग गरेका सूचना दिन राष्ट्रपति कार्यालयले अस्वीकार गरेको हो।

कार्कीले गत जेठ ७ गते नेपालको संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको लागि केपी शर्मा ओलीले पेस गरेको निवेदन र सो निवेदनसँग संलग्न गरिएको कागजातको प्रतिलिपि, सोहीदिन शेरबहादुर देउवाले पेश गरेका निवेदन र संलग्न गरिएको कागजातको प्रतिलिपि पाउँ भनि निवेदन दिएका थिए।

त्यसबाहेक देउवा र ओलीको दाबी खारेज गरेको समय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटनको सिफारिस सम्बन्धि पत्र प्राप्त भएको समय, जनता समाजवादी पार्टीको तर्फबाट हस्ताक्षर मान्यता नदिने विषयको पत्र प्राप्त भएको समय, नेकपा (एमाले)को तर्फबाट हस्ताक्षर मान्यता नदिने विषयको पत्र प्राप्त भएको समयको सूचना कार्कीले माग गरेका थिए। 

यस्तै  धारा ७६(२) प्रधानमन्त्री नियुक्त हुन प्रस्तुत गर्नु पर्ने प्रमाणहरु र ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुन प्रस्तुत गर्न पर्ने प्रमाणहरु मागेका थिए।

 राष्ट्रपति कार्यालयले सूचना प्राप्त गर्नुपर्ने कारण निवेदनमा स्पष्ट खुलाएको नदेखिएकाले हुँदा यसमा थप कारवाही गर्न असमर्थ रहेको जनाएको छ। 

 

कार्कीले भने राष्ट्रपति कार्यालयले कानुनको धज्जी उडाएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘यही व्यहोरा लिएर अन्य कार्यालयमा जाँदा सूचना पाइने तर राष्ट्रपति कार्यालयले भने दिन आनाकानी गर्यो।’

राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले प्रक्रिया नपुगेको भन्दै सूचना दिन असमर्थ रहेको जानकारी दिइन्।  खड्काले भनिन्, ‘उहाँले व्यक्तिगत कारण र सुशासन प्रवर्धनको लागि सूचना माग्नु भएको रहेछ, कस्तो व्यक्तिगत प्रयोजन हो खुलाएर फेरि निवेदन दिनुभयो भने हामी सूचना दिन्छौं।’

कार्कीलाई फेरि निवेदन दिनुहुन्छ भनेर हामीले प्रश्न गर्दा उनले भने, ‘राष्ट्रपति कार्यालयको सूचना नदिने नियत देखियो फेरि निवेदन दिन उचित ठानिन र दिन्न।’

थाहाखबर डटकमबाट