Loading

धनगढी / नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीलाई मुख्य प्रायोजकको रूपमा चर्चित दक्षिण कोरियाली कम्पनी ‘किया’ले साथ दिएको छ ।

विश्वबजारकै चर्चित कार उत्पादन कम्पनीले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता समेत गरेको छ। धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछाने सम्झौता आदान–प्रदान गरे ।

गो–ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष सुवास शाहीले कियाँसँग जोडिन पाउँदा खुशी ब्यक्त गरे । उनले फुटबलमा बहुराष्ट्रिय कम्पनीको लगानी आउनु हर्षको कुरो भएको बताए । ‘किया जस्तो बहुराष्ट्रिय कम्पनी फुटबलमा आउनु धेरै राम्रो हो । यसले नेपाली फुटबलको विकास र प्रवर्द्धन गर्नेछ । कियाको संलग्नताले हाम्रो क्लबलाई मात्रै होइन, नेपाली फुटबललाई नै माथिल्लो स्तरमा पु¥याउन सहयोग गर्नेछ,’उनले भने, ‘हाललाई एकवर्षे सम्झौता गरेका छौं । भविष्यमा दीर्घकालीन योजना सहित हामी एकसाथ अघि बढ्नेछौं ।’

शाही नेपालमा फ्रेन्चाइज क्रिकेट भित्र्याउने पहिलो व्यक्ति हुन् । उहाँकै सक्रियतामा नेपालमा पहिलो पल्ट धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत् नेपालमा फ्रेन्चाइज प्रतियोगिताको थालनी भएको थियो । यसपटक उहाँले फुटबलमा लगानी गरेका छन् । सम्झौतापत्र आदानप्रदान गरे पश्चात किया नेपालका सहायक महाप्रबन्धक अनिश लामिछानेले विश्वकै खेल जगतमा कियाले सहयोग गर्दै आएको र नेपाली फुटबलमा पनि लगानी गर्न पाउँदा खुशी व्यक्त गरे ।

‘विश्वमै खेल माकियाको प्रायोजन हेर्ने हो भने विशेषतःफुटबलको विश्वकप लगायत धेरैमा संलग्नता छ । नेपालमा सुपर लिग सुरु हुँदैछ, यसमा हामीसँग मिल्ने कुनै जुझारुपन टिमसँग सहकार्य गर्ने सोच थियो,’ उनले भने,‘यसबाट धनगढी एफसीसँग हाम्रो भावना मिलेको पायौं र सहकार्य गर्ने निधोमा पुग्यौं । हामीले धनगढी एफसीसँग दीर्घकालीन रूपमै सहकार्य गर्ने सोचेका छौं ।’

सम्झौता कार्यक्रममा धनगढीका आइकोनिक खेलाडी किरण चेन्जोङ र मार्की खेलाडी विशाल राई पनि उपस्थित थिए । कियाको नयाँ लोगो पनि धनगढी एफसीबाटै सार्वजनिक गरेको छ । कम्पनीको लोगो सहितको जर्सी दुवै खेलाडीले पहिरिएका थिए । किया विश्वकप फुटबल २०१४ र २०१८ को पनि प्रायोजक थियो ।

धनगढीले चेम्जोङ र राई सहित अफ्रिकीमूलका दुई र स्थानीय दुई खेलाडी भित्र्याएको छ । शनिबारबाट सुरु हुने प्रतियोगितामा धनगढीले विराटनगर सिटी फुटबल क्लब विरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै एनएसएलको यात्रा थाल्नेछ ।