![]()
काठमाडौं । धादिङको खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा भिजिट भिसामा दुवई गए । दुवईमा ४ दिन बसेपछि ४९ वर्षीय दावा त्यहाँबाट पाकिस्तानको लाहोर हानिए । ०७७ चैत २६ मा उनी नेपाल फर्किए । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलमा नियन्त्रणमा लियो । प्रहरीसँग उनले लागु औषध बोकेर आएको सुराक थियो । तर, सामान्य खानतलासी गर्दा भेटिएन ।
१२ दिनमा दुवई–पाकिस्तान यात्रा
दावा तामाङलाई होनिमाया तामाङले भिजिट भिसामा दुवई पठाएकी हुन् । ०७७ चैत १४ मा दुवई उडेका उनी १२ दिनपछि नेपाल फर्किए । दुवईमा चार दिन बसेपछि होनिमायाले पाकिस्तानी नागरिकको नम्बर दिइन् । पाकिस्तानी नागरिकले भिसा पठाएपछि उनी दुवईबाट पाकिस्तान उडेका थिए ।
‘पाकिस्तानी नागरिकले त्यहाँको एयरपोर्टमा दावालाई प्लाष्टिक कोटेड खैरो हेरोइन निल्न लगाएको खुलेको छ’ एसपी कँडेल भन्छन्–‘त्यसपछि उनी काठमाडौं आएका हुन् ।’ पाकिस्तान एयरपोर्टमा ९४ वटा क्याप्सुल दिएको र सोमध्ये अन्तिममा एउटा निल्न नसकेको दावाले प्रहरीलाई बताएका छन् । उनलाई दुवई पठाउने होनिमाया बोलेकी छैनन् । सो तस्करीमा गोपी र वयरबहादुरको पनि संलग्नता भएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
