![]()
प्रदेश र जिल्ला समिति सदस्यलाई समेत कारवाहीको सिफारिस
टीकापुर, १५ फागुन/नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) टीकापुर नगर समितिले पार्टीको गतिविधि विपरित काम गरेको भन्दै २० जना नगर समिति सदस्यलाई कारवाही गरेको छ ।
शनिबार टीकापुरमा बसेको नगर समितिको बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बनको कारवाही गरेको छ ।
निलम्बन गरिएका नगर समिति सदस्हरुमा मोहन बि.क., जनक खड्का, कमला विष्ट, शिवदत्त उप्रेती, धनीराम साउँद, पूर्णप्रसाद सापकोटा, पञ्चराम डगौरा, दिर्घ तिरुवा, सुर्यादेवी भट्टराई, बलबहादुर बि.क., रामबहादुर सेट्टी, रविन्द्र विष्ट, चतुरप्रसाद खनाल, उदयराम ढुंगाना, चेतराज कुँवर, सुला खत्री (रावल), दिलबहादुर ठकुल्ला, बिजय सार्की, कृष्ण बर्मा र पवित्रा ताम्रकार रहेका छन् ।
यसै गरी पार्टीका साधारण सदस्यहरु सोमबहादुर थापा, ललित ताम्राकार, कमला शाही, ध्रुव खत्री, शिलु खतिवडा, प्रकाश बिक्रम शाह, प्रेम भट्टराई, मनिराम सुनार, चित्र राजी, नैन सिंह बम, भोजराज शर्मा(जोशी), नरेन्द्र कठायत, गणेश कठायत, विरेन्द्र शाह, उमेश तुलाचन र जोखन चौधरीलाई पनि सदस्यताबाट निलम्बन गरेको छ ।
यसैगरी बैठकले पार्टीका प्रदेश समिति सदस्य दानबहादुर बिक चित्रण, लक्ष्मी शाहलाई र जिल्ला समिति सदस्यहरु तपेन्द्र रावल, श्याम खत्री, ध्रुव परियार र लालबहादुर चौधरी रनिलम्बनका लागि सम्बन्धित कमिटीलाई सिफारिस गरेको नगर समिति सचिव खडक साउँदले बताएका छन् ।
यसरी साधारण सदस्यबाट निलम्बन गरिएका नगर समिति सदस्यहरुलाई अनुमोदनका लागि सिफारिस गरिएको छ । यस्तै प्रदेश तथा जिल्ला समिति सदस्यहरुलाई पनि साधारण सदस्य समेत नरहने गरी निलम्बन कारवाहीका लागि जिल्ला र प्रदेश समितिलाई सिफारिस गरिएको छ ।
कारवाही गरिएकाहरुलाई पाटीको बैठकमा नआई पार्टीको नीति नियम विपरित गतिविधि गर्दै गुटबन्दी गर्दै आएको, पुस ५ गतेको प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा बिघटनको असंवैधानिक कदमको पक्षमा वकालत गर्दे आएको, पार्टीको नीति र निर्देशनको पालना नगरी नेता तथा कार्यकर्तालाई जंगली पाराले गाली गलौच गर्दै आएको आरोप लगाइएको छ ।
यस्तै पार्टीका शीर्ष नेतृत्वको मानमर्दन हुने गरी फेसबुकजस्ता सामाजिक सञ्जालमा लेख्ने गरेको, केपी ओली गुट बनाउँदै पार्टी फुटाउने तौर तरिकाले कमिटी बनाउँदै हिँडेको, सर्वसाधारणलाई झुक्यषउँदै हिँडेकोले पार्टी हीत बिपरित यस्ता कार्य गरेकाले नगर समितिको पूर्ण छैठौं बैठकले बाध्य भई सो निर्णय गर्नु परेको नगर समिति अध्यक्ष खडक शाहले बताएका छन् ।
