Loading

काठमाडौं । सौर्य राष्ट्रिय दैनिक पत्रिकाको १०औँ वार्षिकोत्वसव सम्पन्न भएको छ । आफ्नै केन्द्रीय कार्यालय पानीपोखरीमा आज राष्ट्रिय प्रजातन्त्रको दिन उक्त पत्रिकाले १०औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विज्ञापन दातालगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

साथै, लामो समयदेखि राम्रो काम गरेर पत्रिकालाई थप उचाइमा पुर्याएको भन्दै पत्रकारदेखि केही कर्मचारीलाई सम्मान पनि गरिएको थियो । लामो समयदेखि संस्थामा रहेर उत्कृष्ट काम गरेकको भन्दै पत्रकार बाबुराम सिग्देल सम्मानित भएका छन् भने छोटो समयमै राम्रो काम गरेको भन्दै एकाउन्टेन प्रतिज्ञा न्यौपानेलाई सम्मान गरिएको छ । 

त्यस्तै, डिजाइनरबाट पुण्यवती वलामी र मार्केटिङबाट देवकृष्ण श्रेष्ठ सम्मानित भएका छन् भने सुजित नेपाललाई पनि सम्मान गरिएको छ । कार्यक्रममा वसन्तनाथ पन्त र प्रधानसम्पादक बोधराज त्रिपाठीले सम्मानपत्र प्रदान गर्दै संस्थालाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गरेको भन्दै सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिए ।

‘सौर्य दैनिकको स्थापनाका लागि योगदान गर्नुहुने सबै सहयोगी तथा शुभेच्छुकहरूप्रति यस घडीमा आभार व्यक्त नगरी रहन सकिन्न, प्रधानसम्पादक त्रिपाठीले भने, ‘यस दैनिकलाई दीर्घजीवी बनाउने अभियानमा संलग्न सञ्चारकर्मी तथा कर्मचारीहरूलाई पनि धन्यवाद दिनैपर्छ र सौर्य दैनिकलाई नेपाली सञ्चार उद्योगको अंगका रूपमा स्थापित गर्ने हाम्रो होस्टेमा हैंसे गरिदिन समस्त पाठक, विज्ञापनदाता तथा शुभचिन्तकलाई हार्दिक अनुरोध पनि गर्दछु’ यस अवसरमा हामी सम्पूर्ण पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूसँग खुसी साट्दै सदाझैं अविछिन्न सहयोग र सद्भावको अपेक्षा गर्दछौँ ।’

साथै, आजबाट सौर्य दैनिक नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै पत्रिकाले एक खुड्कीलो पार गरेको उनले बताए ।