Loading

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिले यही माघ २८ गते राजधानी काठमाडौको रत्नपार्कमा हुने प्रतिगमनविरुद्धको बिरोध प्रदर्शनको कार्यक्रम निकै भव्य हुने संघर्ष समितिका सचिव सूर्यप्रकाश सुवेदीले जानकारी दिए । माघ ९ गते संघर्ष समितिले नै गरेको कार्यक्रमभन्दा यसपटक संख्यात्मक र व्यवस्थापकीय हिसावले पनि निकै प्रभावकारी हुने सचिव पथिकको भनाइ रहेको छ ।

जुलुश पाँच ठाउँबाट सुरु भई सुन्धारामा १२ बजे जम्मा भएर फेरि शहरको परिक्रमा गरेर जनसभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका सचिव पथिकले जानकारी दिए । पाँच ठाउँबाट जुलुश ११ बजे प्रारम्भ गरिनेछ ।

सत्ताको आड र स्रोत, साधनमा भएको माघ २३ गतेको जुलुश र सभा निकै दयनीय भएको थियो । सडक आन्दोलनमात्र गरिरहँदा तपाईंहरुको पनि त्यस्तै हुन्छ कि भन्ने प्रश्नमा संघर्ष समितिका सचिव पथिक भन्छन, ‘नेपाली जनता परिवर्तनको पक्षमा निकै जागरुक छन् । सरकारले योजनाबद्ध, सरकारी स्रोतबाट निकै सुविधाका साथ गरेको माघ २३ गतेको प्रदर्शन र जनसभा अनि हाम्रो पार्टीले माघ ९ गते गरेको प्रदर्शन र जनसभाकै तुलना गर्दा पनि आनको तान नै फरक छ नि, हैन र ? सरकारी पक्षको कार्यक्रम वास्तवमा दयनीय नै भयो । माघ ९ गतेको जनप्रदर्शन र सभाभन्दा यसपटक निकै सशक्त र प्रभावकारी हुन्छ । केही घण्टामा नै राजधानीका जनताले तुलना गर्नेछन् । केपी सरकारको प्रतिगमन नसच्याउँदासम्म आन्दोलनको गति र मात्रा बढ्दै जान्छ ।’

कहाँ कहाँ कसको नेतृत्व ?

संघर्ष समितिका सचिव पथिकका अनुसार पुल्चोक–कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धारासम्मको जुलुशको नेतृत्व स्थायी समितिका सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल, ललितपुरका सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका माननीय सदस्यहरु र समग्र ललितपुर जिल्ला सदस्यहरुले गर्नेछन् ।

त्रिपुरेश्वर–सुन्धारा हुँदै जुलुशको नेतृत्व गर्नेहरुमा स्थायी सदस्य अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, गोकर्ण बिष्ट, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका माननीय सांसदहरु छन् ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, धादिङ, चितवन, मकवानपुरका भूगोल कमिटी, काठमाडौं क्षेत्र नम्बर ८, ९, १० र सम्बन्धित सम्पर्क कमिटी पनि यसैमा संलग्न हुनेछन् । माइतीघर–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको जुलुशमा नेतृत्व गर्नेहरुमा अमृतकुमार बोहोरा, गणेश साह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका माननीय सांसदहरु हुनेछन् ।

प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई र भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक भूगोल कमिटी सदस्यहरु, काठमाडौं क्षेत्र नम्बर एक, कामनपा वडा नम्बर ३२ र सम्बन्धित सम्पर्क कमिटी पनि यही जुलुशमा सहभागी हुनेछन् । केशरमहल–दरवारमार्ग–तीनधारा पाठशाला–जमल–कमलाक्षी–असन–इन्द्रचोक–जुद्ध शालिक हुँदै न्युरोड हुँदै मूल जुलुशसम्मको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका माननीय सांसदहरु हुनेछन् ।

गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र रसुवा, नुवाकोटको भूगोल कमिटी, काठमाडौं क्षेत्र नम्बर दुई, तीन, चार, पाँच, छ, सात र कामनपा वडा नम्बर ९, सम्बन्धित सम्पर्क कमिटी, सम्पूर्ण जनवर्गीय संगठन÷मोर्चाका सदस्यहरु यसमा सहभागी हुनेछन् । जमल–कमलाक्षी–असन–इन्द्रचोक–जुद्ध शालिक, न्युरोड हुँदै सुन्धारा मूल जुलुशसम्मको नेतृत्व गर्नेहरुमा लीलामणि पोख्रेल, केन्द्रीय कमिटी सदस्यहरु, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेशागत, उद्योग व्यवसायी संगठन तथा वुद्धिजीवी क्षेत्रका रहनेछन् ।

मूल जुलुश सुरु हुने स्थान सुन्धारा १२ बजे तय गरिएको छ । सुन्धारा–वीर अस्पताल–जमल–घण्टाघर–बागवजार–पुतलीसडक–पद्मोदय मोड–प्रदर्शनी मार्ग हुँदै सभा प्रवेश गर्ने तय गरिएको पनि सचिव पथिकले बताए ।

झिल्कोबाट