Loading

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेतृत्वका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफू अमेरिकी सहयोग परियोजना एमसीसीबारे अन्तिम निर्णयमा नपुगिसकेकाले अहिले एमसीसीको बिरोधमा नारा लगाउने बेला नभएको बताएका छन ।

शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसीसीविरोधी नारा नलगाउन भनेको बताए। ‘अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो,’ प्रचण्डले भने,’बीचमा फ्याट्ट एमसीसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसीसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन। मैले अमेरिकी राजदूतलाई पनि हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु।’

प्रचण्ड–नेपालले गरेको आमहड्तालमा सहभागी हुन प्रचण्ड पुल्चोक पुगेका बेला कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसीसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए। कार्यकर्ताले ‘एमसीसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने। त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए।