Loading

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले बिहीबार आम हड्ताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै  बुधबार साँझ देशभर मसाल जुलुस, बिहीबार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको रक्षाका लागि भोलि आमहड्तालको घोषणा गरिएको जानकारी दिइन् । उनले संवैधानिक निकायका पदाधिकारीको सुनुवाइ नगरी असंवैधानिक रूपमा सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा भएको बताइन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताए। आमहड्तालले विद्यार्थीहरुको परीक्षा र सर्वसाधfरण मारमा पर्ने भए‍न र ? भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले परीक्षार्थीले प्रवेश पत्र देखाए सवारीसाधन नरोकिने पनि प्रष्ट पारे । उनले देशव्यापी आव्हान गरिने आमहड्तालमा अत्यावश्‍यक सेवामा पनि कुनै रोक नलगाउने बताए ।

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाएका थिए। त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका प्रमुखहरूले शपथ खुवाएका थिए। विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३२ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्। 

संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन पुगेकाले उनीहरुको नियुक्ति गरिएको हो।