Loading

काठमाडौं/ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध सर्वोच्चले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौंले शुक्रबार शान्तिबाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले अदालतले आमजनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताए । 

उनले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए । प्रधानमन्त्रीलाई मन लाग्दैमा प्रतिनिधिसभा भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाइ छ । उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह पनि गरे । 

कार्यक्रममा नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरे । कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै उनले अदालतमा भएको प्रतिनिधिसभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए । नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास पनि व्यक्त गरे ।