Loading

पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्। पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्।

यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको ड्राफ्टमा परेका छन्। ८ जना खेलाडी नै सिल्भर श्रेणी-विदेशीमा परेका छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल छन्। 

सिल्भर श्रेणीको मूल्य २५ देखि ३५ हजार अमेरिकी डलर हुनेछ। सन्दीप समावेश प्लाटिनम श्रेणीको भने १ लाख ४० हजार डलरदेखि २ लाख ८ हजार डलर मूल्य हुनेछ। पिएसएलको ड्राफ्ट आइतबार दिउँसो साढे चार बजेदेखि सुरु हुनेछ। लाहोरमा हुने ड्राफ्टमार्फत ६ टिमले खेलाडी भित्र्याउनेछन्। ड्राफ्टअघि सबै टिमले अधिकतम ८ खेलाडी रिटेन गरेका छन्। बाँकी खेलाडी ड्राफ्टबाट लिनु पर्नेछ। 

एक टिमले तीन जना खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउनेछ। यस्तै डाइमन्डबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई जना खेलाडी राख्न पाउनेछ। यस सिजनको पिएसएल २० फेब्रुअरीदेखि सुरु हुँदैछ। पिएसएलमा कराची किंग्स, क्वेटा ग्लाडिएटर्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, पेरावर जल्मी र लाहोर क्वालन्डर्सबीच प्रतिस्पर्धा हुनेछ।