![]()
जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ।

शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
‘मैले निकुञ्ज प्रशासनलाई फोन गरि आजै बेलुकादेखि मोटरसाईकल, साईकल र अटो रिक्सा चलाउन रोक लगाउनू भन्ने आदेश गरिसकेँ,’ प्रजिअ अधिकारीले भने, ‘त्यो बाहेकको समयमा पनि आजैदेखि १० जनाको समूहमा मात्रै साधन सञ्चालन गर्न पाउने गरि व्यवस्थापन गर्न निर्देशन दिएको छु।’
मोटरसाईलकमा सवार महिलालाई बाघले झम्टिएर मारेपछि मानवीय सुरक्षाको दृष्टिकोणले त्यस्तो नियम लागू गर्नुपरेको अधिकारीले बताए।
आफन्तले शव बुझे
बाघको आक्रमणबाट मृत्यु भएकी कैलाली लम्किचुहा नगरपालिका-४ कौवापुरकि ५० वर्षिया नन्दकली थापाको शव आफन्तले बुझेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार पोष्टमार्टम पछि शनिबार बेलुका आफन्तले शब बुझेर लगेका हुन्।
प्रजिअ अधिकारीले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने बारेमा निकुञ्ज प्रशासनसँग थप कुरा हुने जानकारी दिए।
शुक्रबार राति दश बजेतिर छोरा सन्तोषसँगै मोटरसाईकलमा पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जाँदै गर्दा पूर्व-पश्चिम राजमार्गको निकुञ्ज क्षेत्रभित्र लगेको थियो। उनको शव शनिबार मध्यान्हः १२ बजेतिर घटनास्थलको तीन सय मिटर दक्षिण पश्चिममा फेला परेको डिएसपी खड्काले जानकारी दिए।

