![]()
दाङ : गण्डकी प्रदेशलाई ७ रनमा अलआउट गर्दै प्रदेश १ दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ।
समूह ‘बी’ को विजेता बन्ने क्रममा प्रदेश १ ले गण्डकीमाथि १४० रनको फराकिलो जित निकालेको हो। १४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ८ ओभरमा सबै विकेट गुमाउँदै ७ रन मात्र जोड्न सफल रह्यो।
उसका सुरुवाती ८ जना ब्याट्सवुमन खाता नखोल्दै पेभेलियन फर्किए। कसुम गोदार र सोनिया थापाले समान २/२ रन जोडे। बाँकी ३ रन गण्डकीले अतिरिक्त पाएको थियो।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा संगीता राईले एक्लैले ५ विकेट हात पारिन्। आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले २ मेडन राख्दै मात्र ३ रन खर्चिइन्।सबनम राईले ४ विकेट हात पारिन्। उनले ३ ओभरमा एक मेडन राख्दै ३ रन दिइन्। अप्सरी बेगमको नाममा १ विकेट रहयो।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै १ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। विशाल योगफल बनाउने क्रममा ओपनर काजोल श्रेष्ठ र रोमा थापाले नटआउट रहँदै अर्धशतकीय पारी खेले।
५७ बल सामना गरेकी काजोलले ४ चौकासहित नटआउट ५२ रनको योगदान गरिन्। यस्तै उनलाई साथ दिएकी रोमाले पनि ४९ बलमा ८ चौकासहित ५१ रन बनाइन्।
प्रदेश १ ले सातौं ओभरमा कप्तान रुविना क्षत्रीलाई गुमाउन पुगेको थियो। कुसुम गोदारको बलमा रुविना आउट हुनुअघि प्रदेश १ को स्कोर ३६ रन थियो। त्यसपछि काजोललाई साथ दिन आएकी रोमाले १ सय ११ रनको साझेदारी गरिन्। गण्डकीले अतिरिक्त २९ रन दिएको थियो।
प्रदेश १ को जितसँगै सेमीफाइनल समीरकण पूरा भएको छ। फाइनल प्रवेशका लागि प्रदेश १ ले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ।
बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमीफाइनलमा
त्यसैगरी आजको पहिलो खेलमा बागमती प्रदेशमाथि २८ रनको जित निकाल्दै सुदूरपश्चिमले समेत सेमीफाइनलमा स्थान बनाउन सफल रह्यो। खराब मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस जित्दै सुदूरपश्चिमले ब्याटिङ गरेको थियो।

निर्धारित ओभरमा ४ विकेटको क्षतिमा सुदूरपश्चिमले ७६ रन बनाउन सफल रहयो। डली भट्टले आक्रमक ब्याटिङ गर्दै १४ बलमा २ छक्का र २ चौकाको मद्दतमा नटआउट २८ रन जोडिन्।
ओपनर कविता कुवँरले नटआउट १९ रन बनाइन्। यी दुईबाहेक टोलीका लागि कविता जोशीले १२ रन, मन्जु बोगटीले ५ रन र रेवती धामीले २ रन बनाएकी थिइन्।
बागमतीकी आरती बिडारीले ३ विकेट हात पारिन्। २ ओभर बलिङ गरेकी उनले १३ रन खर्च गरिन्। निशा तामाङको नाममा १ विकेट रहयो। ७७ रनको बिजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको बागमतीले ९ विकेटको क्षतिमा ४८ रन मात्र बनाउन सक्यो।
ओपनर सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन्। बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमकी कविता जोशीले सानदार बलिङ गरिन्। उनले जारी प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ५ विकेट हात पारिन्। आफ्नो स्पेलको २ ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर उक्त विकेट हात पारेकी थिइन्।
यस्तै टोलीका लागि कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले पनि १/१ विकेट लिएका थिए। ३ खेलमा २ जित र १ हार सहित समूह ‘बी’ बाट उपविजेताको रुपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको दुवै सेमिफाइनल खेल पुस १८ गते हुनेछ। शनिबार हुने प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेता विभागीय टोली एपिएफले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमसँग खेल्नेछ भने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उप –विजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेता टोलीले ३ लाख प्राप्त गर्ने छ। सेमिफाइनलबाट बाहिरिएका २ टोलीले समान २५ हजार प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याट्सवुमनले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन्। फाइनल पुस १९ गते हुनेछ।

