Loading

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरे ।

नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गर्नुभयो । नेता रावलले भने, ‘केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।’

सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट असंबैधानिक कदमकाविरुद्ध सबै जनता एकजुट भएर लाग्नुपर्ने बेला आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षल सरकारको असंवैधानिक कदमका विरुद्ध आज धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

रावलले भने, ‘प्रधानमन्त्री ओली निरंकुश र जनविरोधी हुँदै गएपछि प्रश्न तेर्सिएको छ । ओलीले जनतामाथि विश्वासघात गरेका छन् । जनताको जनमतलाई कुल्चेका छन् । सहिदको रगत, पसिनाको बलमा संविधानसभाबाट बनाइएको संविधानलाई सरकारले कुल्चिएको छ ।’

विरोधसभामा पूर्व सामाजिक विकासमन्त्री एवं प्रदेशसभा सदस्य दीर्घ सोडारीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेर ओलीले ठूलो गल्ती गरेको बताए । उनले राजतन्त्र अन्त्य गर्ने जनताले ओलीको अधिनायकवादलाई पनि फाल्ने चेतावनी दिए ।  

कार्यक्रममा संविधानसभा सदस्य हरि श्रीपाइलीले केपी ओलीको असंवैधानिक कदम लोकतन्त्रविरुद्ध भएको बताए । उनले जनताका अधिकारलाई ओलीले कुल्चने काम गरेको बताउँदै यसका लागि नेपाली जनताले शाहबंशको अन्त्य गरेजस्तै ओलीको पनि अन्त्य गर्ने जिकिर गरे ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ओलीलाई बादशाह नबन चेतावनी दिए । कैलाली जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर थापाले केपी ओलीले गरेको कदमका विरुद्ध सबै नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिए । 
दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव गणेश वि.क.ले प्रधानमन्त्री केपी ओलीले जनताका अधिकारको हनन् गर्नुका साथै जनताको अभिमत क्षणभरमै सत्यानाश बनाएको बताए । नेकपाका प्रदेश सचिव एबं केन्द्रीय सदस्य नेपबहादुर चौधरी, जिल्ला ईन्चार्ज रुपा चौधरी, सह–इन्चार्ज झपट रावल र गरिमा शाहले पनि ओलीको कदमका विरुद्ध अब जनता चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।