Loading

रुपन्देही/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने दाबी गरेका छन्। 

संविधानको मर्मविपरीत प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमप्रति राष्ट्रपति साक्षी बसेको आरोप लगाउँदै नेता खाँणले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनताको अधिकार सिध्याउन लागेको आरोप लगाए। प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्रीको कदमले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धी नै संकटमा परेको बताए। 

पूर्वमन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनअधिकार सिध्याउन खोजेमा नेपालबाट कम्युनिष्ट नै सिद्धिने बताए। उनले संसद पुनर्स्थापना  हुन नसके ओलीले मुलुकमा निर्वाचन समेत हुन नदिने दाबी गरे। 

पार्टीभित्रको आन्तरिक किचलोका कारण मुलुकलाई अस्थिरतातर्फ धकेल्न नै प्रधानमन्त्रीले संसद विघटन गरेको उल्लेख गर्दै कम्युनिष्ट सरकार बनेयता मुलुकमा भ्रष्टाचार, बलात्कार, हत्याहिंसाका घटना बढेको बताए।

कांग्रेस रुपन्देहीका पूर्वजिल्ला सभापति रामचन्द्र ढकालले वर्तमान सरकारले मुलुकको विकासभन्दा संविधान र प्राप्त उपलब्धी नै सखाप पार्ने गरी काम गरिरहेको आरोप लगाए। कांग्रेसले सोमबार रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रसहित देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरूद्ध विरोध सभा गरेको छ।