Loading

प्रधानमन्त्री कपमा एपिएफसँगै लुम्बिनी प्रदेशको विजयी सुरुवात

राष्ट्रिय टोलीका दुई सदस्य सीता रानामगर र सरिता मगरको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा साबिक विजेता विभागीय टोली एपिएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशलाई दुई सय चार रनको भारी अन्तरले पराजित गर्‍यो ।

दाङको लमही क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा मात्रै चार विकेट गुमाएर २३५ रनको योगफल तय गरेको थियो । एपिएफका लागि प्रारम्भिक खेलाडी सीताले ५९ बलमा ६८ रनको योगदान गरिन् । सरिता ३४ बलमा ४४ रन जोड्दै अविजित रहिन् । यी दुईले टोलीका लागि ९९ रनको साझेदारी गरेका थिए । ज्योति पाण्डेले थप ३२ र इन्दु बर्माले २२ रनको योगदान दिए । 

जवाफी ब्याटिङमा आएको कर्णाली भने १४.१ ओभरमा ३१ रनमै समेटिन पुगेको थियो । कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका लागि कप्तान लक्ष्मी रिमालले जोडेको ६ रन नै सर्वाधिक रह्यो । अरू खेलाडी दुई रनभन्दा माथि उक्लिन सकेनन् । कर्णालीलाई सस्तो योगफलमा समेट्न एपिएफकी करुणा भण्डारी एक्लैले पाँच विकेट लिइन् । 

त्यसअघि भएको दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले पनि प्रदेश नम्बर २ माथि नौ विकेटले जित हात पारेको छ । ७८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १६.१ ओभरमा मात्रै एक विकेट गुमाएर जित निश्चित गरेको थियो ।

लुम्बिनीको जितमा गीता गोसाईले अविजित २३ रनको योगदान दिइन् । सरस्वती जिएमले २२ रन जोड्दा कप्तान नेरी थापा १५ रनमा अविजित रहिन् । लुम्बिनीले १८ अतिरिक्त रन उपहार पाएको थियो । प्रदेश २ का लागि अनुराधा चौधरी र सना प्रविनले समान २१ रनको योगदान दिए । लुम्बिनीकी सुस्मिता भुसालले प्रदेश २ को तीन विकेट लिएकी थिइन् ।