Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनर्स्थापनाको माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको विषय अवैधानिक भएको भन्दै तत्काल पुनरस्थापना गर्न माग गरेका हुन् । उनले भने– ‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसदको पुनरस्थापना गर्नुपर्छ ।’

महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गर्यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए । उनले भने– ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो संघर्ष रोकिन्न् । हामीले फेरि देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’
महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरे । तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृष्टिकोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको बताए । पार्टीभित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भिर स्थिति सिर्जना भएको टिप्पणी समेत उनले गरे ।

नेकपाको अन्तरकलहका कारण राजावादीहरुको सक्रियता बढेको समेत उनले बताए । उनले भने– ‘देशमा राजावादीहरु सडकमा आइराखेका छन्, राजतन्त्रको पुनरस्थापना, हिन्दु राष्ट्र बनाउनको लागि । त्यसैले गणतन्त्रलाई कमजोर पार्नुपर्छ भनेर राजावादीहरु सक्रियता बढाइरखेका छन् । गणतन्त्रका पक्षधर शक्तिहरु आपसमा लडिरहेका छन । यसले गर्दा गणतन्त्रको पक्ष निकम्मा हुन्छ । यिनको बीचको एकता खाली पार्टीको एकता मात्रै होइन, उनीहरुको बीचको झगडा मात्रै होइन । यो सम्पूर्ण देशको राजनीतिमा नराम्रो असर पार्छ भनेर हामीले भनेका थियौं । अहिले त्यो प्रष्ट भएको छ ।’