![]()
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् । उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् ।
बालुवाटारमा जारी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे । ओली भने, ‘उहाँहरु यति उपद्रो गर्दै हुनुहुन्छ, यति अन्तरघात गर्दै हुनुहुन्छ, वामपन्थी आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टीभित्रै बिग्रहको खेती गरिरहनुभएको छ । तर, पनि हामी कसैलाई निकालिरहेका छैनौं । आफैं उहाँहरु किनारा लाग्दै हुनुहुन्छ । हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहदैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौँ ।’ उनले पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।
बैठकलाई सम्बोधन गर्दै उनले आफू इतर पक्षलाई पिलोसँग तुलनासमेत गरे । उनले जीवन शर्माको गीत गुनगुनाउँदै गर्दै भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन.. ।’
प्रधानमन्त्रीले सबैलाई चुनावको तयारीमा लाग्न पनि निर्देशन दिए । उनले चुनावमा समानुपातिकमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्ने पनि बताए । ‘चुनावमा हामीले कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्नेछ । समानुपातिकमा यति ल्याउनु छ । त्यो ५० लाख भोट हामीले ल्याउनु छ । हामीले दुई पार्टी मिलेर ११६ सिटमा जितेका थियौं । ११६ सिटमा जितेका थियौं भने अहिले त्यसमा ४ सिट थप्नु पर्नेछ । १२० सिट पुग्नुपर्ने छ ।’
उनले थपे, ‘हाम्रो अभियान कुन हिसाबले हामी सञ्चालन गर्न सक्छौं, हाम्रो सफलता त्यसमा निर्भर रहन्छ । हामी एउटा आँधी तुफानका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाएर लिएर जाँदैछौं । आँधी तुफानका रूपमा हाँकेर लिएर जाँदैछौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । हामी सही विचारको, सही उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं ।’
