Loading

सिड्नी । अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा भारतलाई १२ रनले पराजित गर्दै सान्त्वता जित निकालेको छ ।

यसअघिका दुई खेल जितेको भारतले श्रृखंला कब्जा गरिसकेको छ । अष्टे्लियाले अन्तिम खेल १२ रनले जित हात पारेको हो । १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका कप्तान विराट कोहलीले ६१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

भारतका लागि शिखर धवनले २८, सञ्जु स्यामसनले १०, हार्दिक पान्ड्याले २० रन बनाएर आउट भए । १९ औं ओभरको पहिलो बलमा एन्ड्रयु टाइले कोहलीलाई साम्सबाट क्याच गराएपछि भारतको जित टाढिएको थियो । शार्दुल ठाकुरले ७ बलमा २ छक्का सहित १७ रनमा अविजित रहे ।

अष्ट्रेलिया जितमा स्पिनर मिचेल स्वीपसनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर एन्ड्रयु टाई, स्पिनर एडम जाम्पा, ग्लेन म्याक्सवेल र सन एबटले एक एक विकेट लिए । त्यसअघि सिड्नीमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

अष्ट्रेलिया ओपनर म्याथ्यु वेडले ५३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल ३६ बलमा ३ चौका र ३ छक्का सहित ५४ रनमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि म्याक्सवेल र वेडले ५३ बलमा ९० रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

भारतका स्पिनर वासिन्टन सुन्दरले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । तिव्र गतिका बलर टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा भारत ११ र दोस्रो खेलमा ६ विकेटले हुँदै सिरिज जितेको थियो । तीन ओडिआई खेलको सिरिज अष्ट्रेलियाले २–१ ले जितेको थियो ।

भारत र अष्ट्रेलियाबीच थप चार टेष्ट खेलको सिरिज हुने छ । पहिलो टेष्ट डिसेम्बर १७ देखि एडिलेड ओभलमा हुने छ ।