Loading

आफूविरुद्ध प्रस्ताव छल्ने ओलीको रणनीति’

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आन्तरिक कलह बढेपछि नेकपामा नेतृत्व हस्तान्तरणको चर्चा शुरू भएको हो। 

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले मोर्चाबन्दी गरेर पदबाट हटाउने योजना बनाएपछि प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणलाई प्रवेश गराएका हुन्। पार्टीभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पत्रमार्फत आरोप–प्रत्यारोप चलिरहेको छ। कात्तिक २८ गतेको सचिवालयमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा त्यसको प्रतिउत्तर फर्काएका छन्।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने रणनीति तयार गरिरहेको बेलामा उनले युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव अघि ल्याएका थिए। प्रधानमन्त्रीको यस कदम कार्यकर्ता तहमा लोकप्रिय हुँदै गएको छ। प्रधानमन्त्री ओलीले अहिले पदबाट नहट्ने, स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने बताइसकेका छन्।

प्रचण्डलाई ओलीको जवाफ 
तपाईंले बारम्बार मबाट त्यागको माग गर्नुभएको छ । मैले स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु। यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो ? तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन? दुई वर्षपछि आम निर्वाचन हुन्छ ।  मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरूमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधै भरि सरकार परिवर्तनको दौडधूप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ भने हामीसँग लाखौँ कार्यकर्ताहरूको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?  म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै शुरू गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?

तर, अध्यक्ष दाहालसहित बहुमत सदस्यको मागपछि उनले ‘चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन?’ भन्दै प्रश्न गरेका छन्। 

नेकपाको विजययात्रा जारी नै रहने भन्दै उनले दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो कि होइन भनी प्रतिप्रश्न गरेका छन्। यदी विश्वास नटुटेको भए किन सधैं सरकार परिवर्तनको दौडधूप भनेर पनि सोधेका छन्। उनले भनेका छन्, ‘त्यागको यो सिलसिला आजै शुरू गरौँ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ? नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ! म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु! के तपाईं तयार हो?’

विवाद मोड्ने रणनीति !

प्रधानमन्त्री ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरणको कुरा उठाएपछि नेकपाभित्र नयाँ बहस शुरू भएको छ। तर, पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा नेतृत्व हस्तान्तरणको कुरा गर्नु विवादलाई अन्यत्र मोड्न छलि कुरा मात्रै रहेको  ओलीका विपक्षमा रहेका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल बताउँछन्। 

‘विवाद बढिरहेको बेलामा नेतृत्व हस्तान्तरणको कुरा गर्नु विवाद मोड्ने रणनीति हो, नेतृत्व त पार्टीभित्र सरकारमा पनि ‘थ्री इन वान’को पोलिसीमा निर्माण गर्न सक्नुपर्थ्यो। जस्तै सरकारमा युवा, प्रौढ र पाका समावेश गर्नुपर्थ्यो,’ उनले भने, ‘सरकार र संगठन निर्माणको बेलामा नसोच्ने अहिले आफूलाई समस्या परेको बेलामा आफ्नो प्रतिरक्षाको लागि जे बोल्दा पनि हुन्छ।’

पार्टीभित्रको विवादलाई अन्यत्र मोड्नका लागि प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणका कुरा उठाएको पोखरेल दाबी गर्छन्। ‘विरोधलाई मोड्ने उद्धेश्यले उनले यो रणनीति प्रयोग गरेका हुनसक्छन्, अहिले कुन समूहलाई हस्तान्तरण गर्ने भन्नेबारेमा कुरा नै उठेको छैन,’ उनले भने, ‘पहिले पनि ७० वर्षको कुरा उठेको थियो।’ 

गिरिजाप्रसाद कोइरालाले कांग्रेस र कम्युनिष्टको कहिल्यै एकता नहुने बताइरहे पनि ८० वर्ष कटिसकेपछि लोकतन्त्रका ल्याउनका लागि कम्युनिस्टसँग सहकार्य गरेको उनले सुनाए। ‘गिरिजाप्रसाद कोइरालाले कांग्रेस र कम्युनिष्टको कहिल्यै एकता नहुने बताइरहेका थिए। उनी कम्युनिस्ट विरोधी नै बनिरहे। तर, ८० वर्ष कटिसकेपछि लोकतन्त्रका ल्याउनका लागि विचार ल्याए,’ उनले भने,  ‘त्यसको प्रतिफल संघीय लोकतान्त्रिक गणतन्त्र आयो।’

प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरण गर्न चाहन्थे भने दुई वर्षअघि नै त्यो कुरा सोच्नुपर्ने उनले बताए। ‘उहाँले युवा पुस्तालाई हस्तान्तरण गर्न चाहनुहुन्थ्यो भने दुई वर्षअघि नै किन गर्न नसकेको त?’ उनले प्रश्न गर्दै भने, ‘उहाँले त्यही बेलामा छाड्न सक्नुभएको भए तत्कालिन एमालेबाट भएपनि, माओवादीबाट भएपछि अर्को व्यक्ति आउँथ्यो।’

‘राजीनामा दिन सक्नुपर्छ’

प्रधानमन्त्री ओलीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेका भए तत्काल राजीनामा दिन सक्नुपर्ने नेकपा विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य बिष्णु रिजाल बताउँछन्। प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणका लागि राजीनामा दिएपछि उनको पुस्तालाई नेतृत्वको जिम्मेवारी दाबी गर्न मुस्किल पर्ने र नेतृत्व स्वतः दोस्रो पुस्तामा आउने उनको तर्क छ।

‘केपी कमरेडले साँच्चै नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहनुभएको हो भने दुबै पदबाट तत्कालै राजीनामा दिने हो, यसो गरेपछि उहाँको पुस्ताका अरू नेतालाई ती पदमा दावी गर्न मुस्किल पर्छ र नेतृत्व स्वतः दोस्रो पुस्तामा आउँछ,’ उनले फेसबुकमा लेखका छन्, ‘अरू नेताहरूले पनि यसतर्फ ध्यान दिने कि !’

यस्तै, नेकपा केन्द्रीय सदस्य रेखा शर्मा पनि नेतृत्व हस्तान्तरण गर्ने भन्ने कुरा राम्रो भएको बताउँछिन्। ‘नेतृत्व हस्तान्तरण गर्नेभन्ने कुरा देश र पार्टी दुवैका लागि राम्रो हो। पार्टीभित्र आफुविरुद्ध प्रस्ताव आएपछि प्रधानमन्त्री ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने कुरा सुनाउनुभएको छ, यसको अर्थ चाहिँ अर्कै लाग्छ,’ उनले भनिन्। युवा भनेर कस्तो उमेर समूहलाई ल्याउने भन्नेबारे पार्टीभित्र छलफल हुनुपर्ने उनको तर्क छ। 

‘अहिले आएको विषयलाई स्वभाविक रूपमा मान्नुपर्छ। अन्तरसङ्घर्षलाई काउन्टर गर्ने हिसाबले आएको छ,’ उनले थपिन्, ‘यस विषयमा व्यापक छलफल गर्नुपर्छ, युवा पुस्तालाई हस्तान्तरण गर्नु कुरा राम्रो हो। तर, अहिलेको अवस्थामा यो प्रस्ताव ल्याउँदा पार्टीमा समस्या आउनसक्छ।’

थाहाखबरबाट