Loading

सिन्धुली जनता समाजवादी पार्टी सिन्धुलीका युवा नेता दिपेश थापाले पार्टी राजनीतिबाट अलग्गिने घोषणा गरेका छन ।

तत्कालीन समाजवादी पार्टीका कमलामाइ नगर इन्चार्ज समेत रहेका थापाले गएराती सामाजिक संजालमा स्टाटस लेख्दै पार्टी जीबनबाट स्वतन्त्र हुने घोषणा गरेका हुन ।

उनी बाबुराम भट्टराईले थालेको नयाँ शक्ति अभियानदेखि बैकल्पिक पार्टीको खुल्ला वकालत गर्दै जिल्ला राजनीतिमा सक्रिय भएर लागेका थिए ।

अष्ट्रेलियाबाट उच्च अध्ययन गरेर फर्केका थापा विद्वान नेता डा. बाबुराम भट्टराईको पार्टीबाट छुट्टिनुलाई स्थानीयले अर्थपूर्ण रूपमा हेरेका छन ।

उनले सामाजिक संजालमा लेखेको स्टाटसमा एकाएक किन राजनीति छोडे भन्ने खुलाएका छैनन । तर पुराना नेताले मात्रै केन्द्रीय कमिटी र समितिको जिम्मेवारी पाएको र युवाहरूलाई व्यवस्था गरिएको भन्दै असहमतिमा केही समय पहिला सामाजिक संजालमै स्टाटस समेत लेखेका थिए ।

थापाले लेखेको स्टाटसमा आफ्ना साथी र स्थानीय सहयोगी हितैसीलार्इ राजनीतिक यात्रामा साथ दिएकोमा धन्यवाद दिएका छन ।

देशका सबैजसो पार्टी नीजि कम्पनी जसरी चल्ने गरेको उल्लेख गर्दै थापाले प्रतिक्रिया दिदै भने, ‘युवाहरू आफू सक्षम हुँदाहुँदै नेतृत्वमा कुरेर बस्नुपर्ने भएपछि किन राजनीति गर्ने ? कुरेर बस्नुपर्ने धैर्य गर्नुपर्ने भए पुरानै पार्टीमा बस्दा भइगयो नि ?’

थापाले अगाडि भने, ‘बुढो भएर नेतृत्वमा पुगेर के काम ? काम गर्ने उमेरमा मौका नमिल्ने भएपछि ।’ पार्टी राजनीतिमा युवाहरूलाई उत्साहित बनाउन खुल्ला चौतारीमा सबै मानिस अटेको जसरी ठाउँ पाउनुपर्ने उनको भनाइ छ ।

पुरानो नेताले आफ्नो भाग खान आयो जसरी नयाँ पिँढीका पुस्तालाई व्यवहार गर्दा राजनीतिमा लाग्न युवाहरूलाई उत्साह नभएको उनको भनाइ छ ।

दिएको जिम्मेवारी र कामहरु पुरा गर्न युवाहरू महत्त्वकांक्षी भएर लाग्ने उल्लेख थापाले पहिलेका झोले कार्यकर्ता जस्तै कुर्नुपर्ने, पर्खनुपर्ने धैर्यता भने अहिलेका पढेलेखेका युवाहरूमा नहुने बताएका छन् ।

राजनीति लिने ठाउँ नभएर दिने ठाउँ भएको तर्क गर्दै थापाले भने, ‘जिल्लामा साथीहरूलाई काम गर्न झनै सजिलो होस भनेर आफुले अलग हुने निर्णय गरेको हुँ ।’