Loading

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरु अर्काे वर्ष जुनमा सक्ने योजना अघि सारेको छ । एएफसीको बुधबार बसेको बैठकले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सक्ने निर्णय गरेको हो । विश्वव्यापी बनेको कोरोना महामारीका कारण एसियाली स्तरको विश्वकप र एसियन कपको छनोटका खेलहरु गतवर्षको मसिंरदेखि छनोटका खेलहरु स्थगित छन् ।

कोरोना भाईरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको म्याच डे ७ र ८ को खेल मार्चमा हुनेछ । यस्तै म्याच डे ९ र १० को खेल जुनमा हुने एएफसीले जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब घरेलु मैदानमा तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

गतवर्ष नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला तयार नभएपछि नेपालले कुवेतविरुद्धको होम गेम ‘न्युट्रल भेन्युको रुपमा भुटानमा खेलेको थियो । खेल नेपालले १–० ले गुमाएको थियो । समूह ‘बी’ मा ५ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा रहेको छ । अन्जन विष्टको दुई गोलमा नेपालले चाईनिज ताईपेइलाई २–० ले पराजित गरेको थियो । कुवेतसँग ५–० र १–० पराजित भएको थियो । यस्तै अष्ट्रेलियासँग ५– ले तथा जोर्डनसँग ३–० ले पराजित भएको थियो । समूहमा अष्ट्रेलिया शीर्षस्थानमा रहेको छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भ्रमणमा रहेको छ । नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते ढाकामा मैत्रीपूर्ण खेल खेल्दैछ ।