Loading

आशिष बहादुर सिंह

बझाङ / चाडपर्वलाई लक्षित गरी बझाङमा बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । दशै तिहार लगायतका चाडपर्वका बेला हुन सक्ने कालोबजारी ,मिसावट लगायत गतिविधि नियन्त्रण लागि बझाङमा बजार अनुगमन कार्यलाई तिब्रता दिईएको हो ।

जिल्लाको बुङ्गल नगरपालिका विभिन्न बजारहरु गरिएको अनगमनका क्रममा १ लाख बढीको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ । अखाद्य र म्याद नाघेका वस्तुको बिक्री वितरण रोक्नुका साथै खाद्य अधिकारका बारेमा स्थानीय व्यापारी तथा उपभोक्ताहरुलाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको अनुगमन समितिका सदस्य खरिदार रमाकान्त जोशीले बताए ।

अनुगमनका क्रममा मिठाई , चाउचाउ, चिउरा, बिस्कुट, तेल, खानेपानी ,पिठो , दाल ,मसला लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको होे । धेरै पसलेहरुले पसल दर्ता नगरेको, उपभोक्ता तथा व्यवसायीले खाद्य वस्तुको उत्पादन मितिका बारेमा चासो नदिने गरेको र मदिरा इजाजतपत्र नलिइ मदिरा बिक्रीवितरण गरेको लगायतका समस्याहरु देखिएका सदस्य जोशीले बताए।

त्यस्तै धेरैजसोमा मूल्य सूची र साइनबोर्ड पनि नराखेको पाइएकाले मूल्यसूची राख्न र साइनबोर्ड बनाउन निर्देशन दिइएको जिल्ला घरेलु तथा साना उद्योग बिकास कार्यालयका प्रमुख खडक बोहराले जानकारी दिए । कार्यालय प्रमुख बोहराका अनुसार कालोबजारी गर्नेलाई पहिलो पटक सुझाव दिने र दोस्रो पटक पनि कालोबजारी गरेको पाईएमा कारबाही गरिने बताए ।

बजार अनुगमनका लागि घरेलु तथा साना उद्योग बिकास कार्यालय उद्योग, जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समिति, बुङ्गल नगरपालिका र प्रहरीको टोली खटिएको छ । उक्त टोलीले जिल्ला सदरमुकामका पसलमा मात्रै नभएर ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा पनि अनुगमन गरेको छ । अनुगमनलाई अझै नियमित गर्न स्थानीयवासीहरुले माग गरेका छन् ।

चाडपर्वका बेला मात्रै नभएर अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने बुङ्गल नगरपालिका( ४ का राम जाग्रीको भनाई छ । बजारमा किन्ने सामग्री बिषयमा उत्पादन मिति र उपभोग्य मितिका बिषयमा सचेत रहन अनुगमन टोलीले आग्रह गरेको छ ।