![]()
चमिना भट्टराई
कानुन संशोधनको प्रश्न अहिले पेचिलो बनेको छ । यो पनि मौसमीजस्तै गरी उठने आवाज हुन् । ‘जब पर्यो राती अनि बुढी ताती’ भन्ने नेपाली उखान जस्तै । गम्भीर घटनापछि उठने गरेको यो आवाज नौलो भने होइन, यस्ता अपराधका घटनासँगै उठिरहन्छ र सेलाउँदै जान्छ । अब भने त्यस्तो नहोस्
नेपालमा बलात्कारका घटनासँगै मौजुदा कानुनमा रहेको बलात्कार अभियोग लागेकालाई सजाय सम्बधका प्रश्न उठ्ने गरेको छ । यति बेला बझाङ मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाले मान्छेमा अनेक तरंग ल्याएको छ । उक्त घटना सार्वजनिक भए लगत्तै बझाङमा अर्को घटनासहित देशभर आधा दर्जन बलात्कारका घटना सार्वजनिक भए । यही महिनाका घटनालाई हेर्दा केही छिमेकी र केही आफन्तबाटै बलात्कार भएको पाइयो । जे होस् बलात्कार सामान्य अपराध भने होइन ।
बझाङकै दुई वटा बलात्कारका घटनाले सुन्ने जो कोहीको आङ नै सिरिंग बनाउँछ । धेरैलाई ती घटनाले आक्रोशितसमेत बनाएको छ । त्यस्ता अपराधमा संलग्नलाई कुन हदसम्मको कारबाही गर्ने भनेर अनेक अनेक बहस र सुझावसमेत आउने गरेको छ । नेपालको कानुनमा फाँसीको सजाय छैन । तर, यस्तै प्रकृतिको अपराधमा आममान्छेले भन्ने गरेका छन्, कानुनको कुनकुन धारा संशोधन गर्नुपर्ने हो गर, यस्ता जघन्य घटनाका अभियुक्तलाई मृत्युदण्ड देउ । कानुनका ज्ञाताहरू भनेजस्तो सजिलो नभएको बताउँछन् मृत्यु दण्डको व्यवस्था कानुनमा राख्न । त्यसोभए बलात्कारमा संलग्नलाई राज्यले पालेर राख्ने कहिलेसम्म ?
१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना छर्लंग भएको छ । बझाङ प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरिसकेका छन् । त्यस्तै बझाङकै अर्की युवती परिवारकै सदस्यबाट लामो समयदेखि बलात्कार हुँदै आएको घटना सार्वजनिक भएको छ । भारतमा आफन्तहरूबाट बलात्कृत ती युवतीको यति बेला मानसिक र शारीरिक रूपमा बिछिप्त भएकी छन् । नहुन पनि कसरी ? उनको दर्दनाक भोगाइ सुन्ने त त्यसलाई सहज रूपमा लिन सक्दैनन् भने उनले त त्यो कहालीलाग्दो भोगाइ भोगेकी छन् । त्यसैले अब बलात्कार गरे सहजै उन्मुक्ति पाइन्छ वा आनन्दले सरकारी रासन खाएर बस्न पाइन्छ भनी सोच्नेहरूलाई सजाय सुन्दै त्रसित हुने बनाउनु पर्यो ।
यति बेला सम्झना बलात्कार तथा हत्याको घटना र अन्य बलात्कारको घटनाले मान्छेमा आपराधिक मानसिकता कतिसम्म तल झर्दो रहेछ भन्ने कुराको चरितार्थ गराएको छ । हुन त यस्ता घटना पहिला पनि नहुने गरेका होइनन् । मान्छेमा मानवता सकिएपछि दानवताले काम गर्छ भन्छन् । सायद राजेन्द्र बोहोरा र अन्य अभियुक्तको मनमा दानवता सवार भएकाले त्यति निकृष्ठ कार्य गरे । उनले गरेका कार्यले उनीप्रति आममान्छेको घृणा चुलिएको छ ।
आफ्नै गाउँकी चेली बलात्कार तथा हत्याका अभियुक्त राजेन्द्र यतिबेला प्रहरी हिरासतमा छन् । सम्झना बलात्कार घटनासँगै उनले विगतमा गरेका कर्तुत पनि बाहिरिएका छन् । उनको जीवनमा यो पहिलो अपराध होइन, उनले गएको २९ साउनमै मष्टा–२ कै १४ वर्षीया दमाई थरकी बालिकालाई समेत बलात्कार गरेको अनुसन्धानमा खुलेको बझाङ प्रहरीको आशंका छ । राजेन्द्रले आफ्नै घट्टमा गहुँ पिस्न आएकी बालिकालाई बलात्कार गरेका स्थानीयको दाबी छ । उक्त घटनामा राजेन्द्र मात्रै होइन, बलात्कारपछि दुवै पक्षबीच छलफल र मिलापत्र गराई कागज गराउने समाजका अगुवा र आफन्तसमेत दोषी देखिन्छन् । छोरालाई असल कर्मतिर लगाउनुभन्दा अपराध गर्न प्रोत्साहन गरेको देखिन्छ । त्यसले अहिले उतिबेला गराइएको मिलापत्रको कागजका बारेमा समेत निकै चर्चा भएको छ । राजेन्द्र अपराध गर्दै जाने समाज उनको अपराधमा साक्षी बस्दै गएको परिणाम हो पछिल्लो घटना ।
अघिल्लो घटना प्रहरीमा नलैजान भन्दै दुवै परिवारले कागज गरेर ‘गुपचुप’ पारेको कुरा अहिले खुलेको छ । दुवै पक्षका तीन÷तीन जनाले ३१ गते मिलापत्रको कागजमा सही गरेको भनिएको छ । त्यसो हो भने राजेन्द्रलाई बलात्कार गर्न छुट दिने ती साक्षी र आफन्तलाई पनि कारवाही गरिनुपर्छ । उनीहरूका लापरवाहीले राजेन्द्रको मनोबल बढेको हो । बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनेले पीडितलाई आफ्नै छोरी चेली सम्झेर अभियुक्तलाई कारवाहीको दायरामा ल्याएको भए सायद पछिल्लो घटना नहुन सक्थ्यो । उनको मनोबल अघिल्लो घटनामा उन्मुक्ति पाउनाले पनि बढेको सहजै अनुमान लगाउन सकिन्छ ।
बलात्कारजस्तो निकृष्ट कार्यमा दोषी देखिएकालाई पाँच सय रुपैयाँ जरिवाना गराएर उन्मुक्ति मात्रै होइन, अर्को घटना दोहो¥याउने बाटो खोलिदिन साक्षी बस्ने र कागजात गराउनेहरूको खोजी गरिनुपर्छ । छोरो मान्छेले गरेका अपराधराई नजरअन्दाज गर्नेले अरूको छोरीको पीडालाई नजिकबाट हेरेर कारबाही गरेको भए राजेन्द्र यसअघि नै जेलमा हुन्थ्यो र सम्झना हामी बीचमा सम्झनामा मात्रै रहने थिइनन् । उनको हँसिलो बालसुलभ आज आफ्नै आँगनमा खेलिरहेको हुन्थ्यो आफन्तसँगै ।
कानुन संशोधनको प्रश्न अहिले पेचिलो बनेको छ । यो पनि मौसमीजस्तै गरी उठने आवाज हुन् । ‘जब प¥यो राती अनि बुढी ताती’ भन्ने नेपाली उखानजस्तै । गम्भीर घटनापछि उठ्ने गरेको यो आवाज नौलो भने होइन, यस्ता अपराधका घटनासँगै उठिरहन्छ र सेलाउँदै जान्छ । अब भने त्यस्तो नहोस् । केही दिनअघि सरकारले एसिड आक्रमण गर्नेका लागि कडा कानुन ल्यायो त्यसले सरकारलाई सबैले धन्यवाद दिए । एसिड आक्रमण पनि नेपालका लागि पछिल्लो समय निकै चुनौती बनेको थियो । धरै किशोरी र युवतीले त्यसको सामना गरे र गरिरहेका छन् । अब भने त्यसमा केही कमी होला भन्ने आश पलाएको छ ।
सम्झनालाई बलात्कार र हत्या गर्नेलाई जति निन्दा गरे पनि कम हुन्छ । उनले भोगेको त्यो दर्दनाक क्षण अब कुनै पनि चेलीले भोग्ने मात्रै होइन कल्पना पनी गर्न नपरोस् । चर्चा मात्रै होइने निष्कर्षमा पुग्ने गरी बहस गरौँ । कुनै पनि घटनाले अनेक अवसर र चुनौती सिर्जना गर्छ । अहिले कानुनमा बलात्कारीलाई दिइने सजायको बहस छ । यसलाई टुंगोमा पु¥याउने र भोलिका दिनमा कसैले पनि त्यसको मानसिक र शारीरिक यातना खेप्नु नपर्ने अवस्था बनाउँ । यो सारा नेपालीको साझा समस्या हो । यसबाट कोही अछुतो छैन, आफन्त, परिवार वा छिमेकले भोगेको पीडा हामी सबैको आफ्नै हो भन्ने सोच्ने हो भने यस्ता घटनामा कमी आउन सक्छ । त्यसैले कानुन संशोधनको विषय जसरी उठेको छ । अब टुंगोमा पु¥याउनु पर्छ । एउटै विषयमा बेलाबेला आवाज उठाउने र सेलाउने कार्य बन्द गरिनुपर्छ ।
जहाँसम्म पीडितलाई राहतको व्यवस्था छ यसमा पनि सोच्नुपर्ने देखिन्छ । सम्झनाको परिवारलाई राज्यले राहत दिने भनेको छ । उनको परिवारका लागि छोरी गुमाउँदाको क्षतिपूर्ति कसैले पूरा गर्न सक्दैन । तर, यसमा क्षतिपूर्ति नदिने होइन, तर राज्यले मात्रै होइन पीडकलाई पनि त्यसमा साझेदारी बनाउनुपर्छ । राजेन्द्रको परिवारमा रहेको सम्पत्तिबाट पीडितको परिवारलाई क्षतिपूूर्ति दिलाउनु पर्छ । अपराध गरेपछि राज्यको भात खाएर मात्रै सजाय हुँदैन यसमा पनि विचार पु¥याउ । उसले पाउने भागको सम्पत्ति पनि सम्झनाको परिवारलाई क्षतिपूर्ति स्वरूप दिलाइयोस् ।
कुनै पनि घटनामा अपराध गर्नेले पनि क्षतिपूर्ति दिनुपर्छ भन्ने नजिर स्थापित गरियोस् । यो पछिल्लो घटनालाई बुलन्द गर्दै आउने दिनमा कानुनत सबैलाई सुरक्षित बनाउनेतर्फ ध्यान पु¥याउनुपर्छ । यतिबेला कानुनत सजायको व्यवस्थामा उठेका कुरालाई गम्भीर रूपमा लिँदै राजेन्द्रद्वारा घटाइएको अघिल्लो घटनाको समेत छानविन गरी त्यसमा संलग्न सबैलाई खोजी कारबाहीका दायरामा ल्याइयोस् । बलात्कारजस्तो अपराधमा कागजमा मिलापत्र गराएर अभियुक्तलाई छुट दिनु भनेको अर्को अपराध गर्न छुट दिनु हो । त्यसैले यस्तो अपराधबाट कोही कसैलाई छुट दिइनु हुँदैन । सम्झना र यसअघि पीडित भएकी छोरीले न्याय पाउनुपर्छ ।
सौर्य अनलाइनबाट
