![]()
टिकापुर/गणेश बाबा बोर्डिङ स्कुल टीकापुरको ४१ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस बुधबार टिकापुरमा सम्पन्न भएको छ ।
समारोहको उद्घाटन विद्यालयका स्थापनाकालका सँस्थापक तथा पूर्व प्रिन्सिपल डिल्लीराज शर्माले गर्नुभएको थियो।
धनगढीस्थित हिलबोर्ड इंग्लिश स्कुलका प्रिन्सिपल समेत रहेका शर्माले गणेश बाबा स्कुलको ४१ वर्षअघि बर्दियाको राजापुरमा स्थापना गरिएको सन्दर्भ जोड्दै देस र विदेशमा समेत यस विद्यालयमा शिक्षा आर्जन गरेका विद्यार्थीहरु राम्रो क्षेत्रमा काम गरिरहेका उदाहरण दिनुभयो।
उहाँले आजका विद्यार्थीहरु भोलिका देसका कर्णाधार मात्र नभई विश्वव्यापीकरण भइरहेको वर्तमान अवस्थामा अन्य मुलुकमा समेत गएर परिवार, र विद्यालय, समाज, र देसको प्रतिष्ठा बढ्ने र प्रतिष्ठित काम गर्ने बताउनुभयो।
त्यसैले विद्यार्थीहरु राम्रो नतिजा ल्याउन शिक्षक, अभिभावक र विद्यार्थी स्वयमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
यसैगरी विद्यालयका पूर्व अध्यक्ष मुक्तिप्रसाद भट्टराई, विद्यार्थी आयुष बजगाईं, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर साउँदको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सह-प्रिन्सिपल पुष्पराज उपाध्याय, छात्रा भुवन उपाध्यायले गर्नुभएको थियोभने शिक्षिका सीमा चौधरीले स्वागत मन्तव्य गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि शर्मा, अध्यक्ष साउँद, पुर्वअध्यक्ष भट्टराई, प्रिन्सिपल गजेन्द्रबहादुर बुढा, सञ्चारकर्मी दुर्गाप्रसाद भण्डारी, एनएमबी बैंक टिकापुरका प्रबन्धक प्रेमप्रसाद भट्टराई, इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायब निरीक्षक मिठ्ठु बोहरा लगायतले विद्यालयका आन्तरिक खेलकुद तथा शैक्षिक नतिजा र गायनमा उत्कृष्ट स्थान हासिल गर्ने छात्र छात्राहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सहित अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो। विद्यार्थीहरुले राउटे नृत्य, हुडकेउली नृत्य लगायत, लोक सँस्कृति झल्किने नृत्यहरू र सन्देशमुलक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए।
यस्तै विद्यालयद्वारा लिएको आन्तरिक सदनात्मक खेलकुद प्रतियोगितामा सबैभन्दा बढी पदक ल्याउन सफल कक्षा ९ की छात्रा तनिसा कुँवर उत्कृष्ट खेलाडीका रुपमा र वर्षमा आन्तरिक तथा बाहृय विभिन्न शैक्षिक प्रतियोगितामा बढी पुरस्कार प्राप्त गर्न उत्कृष्ट विद्यार्थी पुरस्कार कक्षा १० की छात्रा भुवन उपाध्यायलाई प्रदान गरिएको थियो।



