![]()
-दुर्गाप्रसाद भण्डारी
पानी बगिरहने नदीमा प्रतिदिन स्नान गर्नाले शरीरमा आवश्यक तत्व प्राप्त हुन्छ र रोग प्रतिरोधक शक्ति बढ्छ । यस्तै बिहानीपखको समयमा खाली खुट्टा दुबोमा हिँड्ने गर्दा पनि शरीर निरोगी रहन्छ। हामीले अल्प भौतिकवादी दृष्टिकोणबाट हेर्दा धेरै राम्रा र वास्तविक वैज्ञानिक तथ्य भएका कुराहरू समेत गुमाउँदै आएका छौं । कतिपय हाम्रा आस्थाहरु पनि हेर्दा सामान्य लागेपनि तिनका वैज्ञानिक तथ्यहरु छन्।
टिकापुरबाट ५०० किलोमिटर दुरीमा भारतको प्रयागराजमा हिन्दू धर्मावलम्बीहरुको विश्वस्तरको महान पर्व ‘महाकुम्भ मेला’ लागिरहेको छ। त्यसको धार्मिक मान्यता आफ्नो ठाउँमा छ । तर त्यहाँको व्यवस्थापन, गंगा स्नान, विशाल मानव सागरको समुपस्थिति, विभिन्न जातजाति, भाषाभाषीका मानिसहरूको मिलनको दृश्य देख्न सकिन्छ। त्यहाँ विभिन्न प्रकारका वस्त्रधारी, अर्धबस्त्रधारी, निवस्त्र सबै मानिसको दर्शन गर्न सकिन्छ। मानव जीवनको मुल्य मान्यता आदर्श र नैतिक जीवनको शिक्षा प्राप्त हुन्छ। ठुला ठुला भाषण गरेर अन्तमा भ्रष्टाचार गर्नेहरुको जत्था त्यहाँ देखिदैन।
अझ अध्यात्मवादीहरुको शब्द सापटी लिएर भन्नुपर्दा ‘ब्रह्म सत्य जगत मित्थ्या’ भन्ने दृष्टान्त देख्न पाइन्छ। हामी दस-विस जनाको टिम मिलाउन सक्दैनौँ किनकि हरेकका स्वार्थ गाँसिएका हुन्छन्। तर त्यहाँ अपवाद बाहेक त्यस्तो देखिदैन, मानिसलाई सत्य, निष्ठा, धैर्यता, आदर्श र इमान्दारिताको शिक्षा दिइन्छ। तैपनि हाम्रो चक्षुले त्यहाँको आलोचना गर्न छोड्दैन। किनकि हामी वास्तविकता बुझ्न नै खोज्दैनौ, केवल अरुले भनेको कुरा सुनेर आफ्नो विश्लेषण गर्ने महान विश्लेषक बन्न खोज्छौँ अनि तथ्य र हाम्रो भेट नै हुँदैन।
मान्नु-नमान्नु आफ्नो इच्छाको कुरा हो तर हरेक कुरा जान्न पाउनु मुख्य कुरा हो । हामी लोकतन्त्र (जनवाद)मा विश्वास गर्ने मान्छे, विज्ञानलाई मान्ने मान्छे, त्यही विज्ञानले भन्छ आज जुन कुरा सही लाग्दैन भोलि त्यही कुरा नै सही भइदिन्छ। जस्तै: सुकरातको कुरा होस् वा राइट दाजुभाइका कुरा हुन् , त्यसबेलाको समय र शासकका लागि असत्य थिए तर कालान्तरमा आएर तिनै कुरा सत्य भए र तिनै कुरा अत्यावश्यक वस्तु भए । त्यसैले कतिपय कुरामा हामी जडसुत्रवादी छौँ । हामी आफ्नो सोच बदल्न सक्दैनौँ तर दुनियाँको बदल्न खोज्छौँ । आफ्नो सोच बदल्यौँ भने अवश्य दुनियाँ बदलिन्छ भन्ने थाहा भएर पनि बदल्न चाहन्नौं किनभने हामी केवल आफ्नो कुरा मात्र सत्य ठान्ने अरुको कुरा मिथ्या ठान्छौँ तर विज्ञानले त्यसो भन्दैन तैपनि हामी विज्ञानवादी हौँ भनिरहन्छौँ। त्यसैले सोच बदल्न पनि जरुरी छ संसार कहाँ पुगिसक्यो हामी जहाँको त्यहीँ छुट्न पुगेका छाैँ ।
कुरा ५०० किलोमिटर दुरीमा रहेको महाकुम्भ मेलाको थियो। त्यहाँ सिख, बौद्ध र क्रिश्चियनलाई नभएपनि इश्लाम धर्मावलम्वीहरूलाई भने यसवर्ष प्रवेशमा निषेध गरिएको थियो। आखिर इश्लाम धर्मावलम्वीहरू किन त्यहाँ जान चाहन्छन् त यस्ता तमाम विषयवस्तुको खोज अन्वेषण गर्न र आफ्नो मनमा उब्जिएका तमाम जिज्ञासा वा बिषयको खोज गर्न पनि त्यहाँ जान उपयुक्त देखिन्छ। अन्य मुलुकमा जानुपर्ने भए त सायद हामी हौसिने थियौ होला । त्यहाँ जान सबैका लागि सम्भव हुँदैनथ्यो तर छिमेकी मुलुक भारतमा भने त्यस्तो असहज छैन।
टिकापुरको सिमापारस्थित भारतीय छिमेकी बजार तिकुनियाँबाट ४७८ किलोमिटरको दुरीमा पर्छ प्रयागराज क्षेत्र । किनकि भोलिका दिनमा प्रयागराज-गोलागोकर्णनाथ हुँदै नेपालको कर्णाली नदी किनार भएर चीनको स्वशासित क्षेत्र तिब्बतस्थित मानसरोवर जाने मार्ग पनि यहीँबाट बन्ने सम्भावना भारतीय सञ्चारमाध्यम र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट सुन्न पाइन्छ। हाम्रा कर्णाली, कोशी र गण्डकी नदीको पनि कम्ति महत्त्व छैन। भारतका गंगा, यमुना र ब्रह्मपुत्र नदीको महत्व भन्दा कम छैन। तर हामीले न त धार्मिक दृष्टिकोणले न त पर्यटकीय दृष्टिकोणले नै ती क्षेत्रमा कुनै विकास गर्न सक्यौँ, सक्यौँ त केवल नेपाली दाजुभाइ दिदीबहिनी हरुका मन बाँड्न र मिलेको समाज भाँड्न मात्र सिक्यौँ अनि सिकायौँ । हामी अहिले अरुको देसको सिको गर्छौं, एक समय थियो सारा विश्वले गोरखालीको वीरता, इमान्दारिता आदिको सिको गर्थ्यो। कस्लाई दोष दिने हिजो र आजमा बोल्न बाहेक अरु बढी के नै जान्यौँ र ?
झण्डै ५० करोड मानिसले स्नान गर्ने लक्ष्य लिएको उक्त महाकुम्भ मेलामा जस्तै हाम्रो यहाँ पनि पर्यटकहरू भित्र्याउन सक्थ्यौँ। तर गरेनौँ त्यस्तो मुलुकलाई फाइदा हुने काम समेत गरेनौँ । अरुबेला हामी भौतिकवादी बन्यौँ तर टोलटोलमा मन्दिर खडा गरेर त्यसका नाममा मोटो रकम कुम्ल्याउन भने सक्यौँ। गाउँ-गाउँमा भ्यु टावर बनाएर आर्थिक दुरुपयोग गर्न सिक्यौँ र सिकायौँ । विशाल डाँडाले भरिएकोले विश्वका पर्यटक हेर्न आउने देसमा स-साना भ्युटावर ठड्याएर जात्रा बाहेक केही गरेनौँ, जुन ती पर्यटकका सामु लाजमर्दो भइरहेको छ । हाँगामा बसेर त्यही हाँगो बन्चरोले काटे जस्तै लज्जास्पद कार्य भएको छ त्यो। यो तेरो पार्टी र यो मेरो पार्टीको भन्न र विभेद गर्न सिकायौं । अनि कसरी बन्छ देस, कसरी हुन्छ समृद्धि? आज हाम्रा सन्तानहरू यो देसका नेतालाई न त मन पराउँछन् न त यिनका कामहरु नै ! नयाँ पुस्ताले विज्ञानको प्रयोग खोज्छ तत्काल परिणाम चाहन्छ । उनीहरु शिक्षा पनि त्यस्तै खोज्छन् तर छैन। त्यसैले अध्ययन गर्न मात्र होइन यता लोकसेवा दिएकाहरु पनि विदेशतिर लागिरहेका छन्। यहाँ न काम पाइन्छ न त गतिलो दाम नै । न त कामको सम्मान छ न त इमानको । भएका उद्योग कलकारखानाहरु बन्द गरिएका छन्। मिलेको कामको पनि न उचित ज्याला छ न त उचित ब्यवस्थापन अनि किन बस्छ युवा । नेताहरुका कुरा सुनेर हाम्रो पुस्ताको भविष्य बिग्रेको उनीहरुले घरघरमा देखेका छन्। त्यसैले पनि उनीहरु रोकिन चाहन्नन्। त्यसैले अब सिद्धान्त भन्दा पनि त्यसको प्रयोग चाहन्छ युवा पुस्ता। युवापुस्तालाई सम्बोधन गर्ने प्रयोग मुलक राजनीति र शिक्षा चाहिन्छ।
