Loading

विश्वेश्वर कट्टेल
समाजवाद १८ आँैं शताब्दीबाट विकास हुन पुगेको विचार धारा हो । राज्यको आडमा धनीले गरिबमाथि सीमाहीन अन्याय–अत्याचार गरे। निरीह बनेका मानिसका आँसुको दहबाट, उनीहरूका चित्कार र पुकारका गुञ्जनबाट, खपेका असहनीय पीडा र वेदना देख्न नसकी नरमखाले बोध्दिक पुँजीवादी पक्षधरले त्यस परिवेशविरुद्ध, शासनको विकल्पमा चालिएको कदमको परिणाम स्वरूप पैदा भएको मानवीय भावना समाजवाद हो । समाजवादको स्वरूप निर्धारणका लागि विभिन्न क्रान्तिकारी विचारक, सुधारकको महत्त्वपूर्ण योगदान छ। समाजवादका बारे सयौं दार्शनिक विचारकहरूले विभिन्न तरिकाले परिभाषा गरेका छन् । यसलाई मानव कल्याणको सिद्धान्त भनिन्छ। यसले वर्गीय चेतना र वर्ग संघर्षमा विश्वास राख्दछ। समाजवादलाई विज्ञानको रूपमा प्रस्तुत गर्ने वैज्ञानिक समाजवादका प्रणेता कार्लमार्क्स हुन् । समाजमा शान्ति, भ्रातृत्व र सद्भाव विकास गर्ने साधन समाजवाद हो । हामी यहाँ मार्क्सवादी समाजवाद प्राप्तिका लागि समाजवादी शिक्षाको आवश्यकता बारेमा केही विषयवस्तु समेट्न प्रयास गरेका छौं ।

समाजवादी शिक्षा बोध गर्न आवश्यक
१. मार्क्सवादले समाज बुझ्न सघाउछ र समाजबाटै मानवको सर्वोत्तम हित हुन्छ भनेर जनतालाई सिकाउन र यसले क्रान्तिकारी पद्धति र वर्गीय संकल्प स्थापित गर्न सक्ने उच्च बौद्धिक चेतना युक्त समाज निर्माण गर्न सक्छ भनी बोध गर्ने साधन ।
२. कम्युनिस्ट पार्टीहरूमा विचार धारात्मक तथा सैद्धान्तिक ज्ञानको उत्पादन र पुनरुत्पादनका संरचना निर्माण गर्न पर्दो रहेछ भन्ने चेतनाको विकास गराउन ।

समाजवादी शिक्षा किन
१. आन्दोलनका अगुवाहरू असैद्धान्तिक बन्दै गएका कारण पार्टी र तिनका भातृ संगठन स्वतः असैद्धान्तिक बन्दै छन् । त्यसलाई रोक्न ।
२. पार्टीभित्र अनुशासन कुन चराको नाम हो ? भनेर खोज्नपर्ने अवस्था सिर्जना भएको छ । प्रकृतिको जस्तै पार्टीभित्र पनि पद्धति विकास गर्न ।
३. समाजलाई विहंगम दृष्टिले हेर्ने, नियालेर देख्ने (ठम्याउने) र समाजको सबै मर्म र भेदहरू बुझ्ने सवालमा हचुवा प्रवृत्ति देखा परेको छ । यसका लागि वस्तुवादी बन्न र पार्टीलाई आधारभूत तहका जनतासँग जोड्न प्राथमिकता दिन ।

चुनौतीमा परिवर्तन
१. नेपालको कम्युनिस्ट आन्दोलन, गुट–परस्त र फुट–परस्त बन्दै तितरबितर हुन पुगिरहेको चुनौतीमा परिवर्तन ल्याउन ।
२. नेपालका कम्युनिस्ट आन्दोलनले विश्व कम्युनिस्ट आन्दोलनलाई ठूलो गुन लगाउन सक्दथ्यो, यही अवस्थामा त्यो गुन लगाउन सक्ने सम्भावना छैन, सम्भावना दर्शाउन ।
३. प्रतिक्रियावादीको साँठगाँठ चर्कँदै छ, अवसरवादी दलाल र नोकरशाही प्रवृत्ति हाबी हुँदै छ र कम्युनिस्टको नाममा कम्युनिस्ट आन्दोलन सेलाउने काम गरिँदै छ, रोकथाम गर्न ।
४. कम्युनिस्टहरूलाई बदनाम गर्न प्रतिक्रियावादीहरू कम्युनिस्ट पार्टी नै खुलेर लागिरहेका कारण समाज असैद्धान्तिक र विश्रृङ्खलित बन्दै गएको छ, यसलाई रोक्न ।
५. कम्युनिस्ट पार्टीहरूमा समाजवादी बौद्धिक संस्थाहरू संस्थागत रूपमा विकास हुन सकेको छैन । पुँजीवादका भ्रमहरू चिर्न र तिग्डमका खेलहरू बुझ्न सक्ने शक्तिको विकास हुन सकेको छैन । स्फूर्तरूपमा स्थापना भएका समाजवादी अध्ययन केन्द्रहरू नाम मात्रका हुन बाध्य छन्। उनीहरूलाई निरुत्साहित बाहेक कहीँ कतैबाट प्रोत्साहन हुँदैन भने समाजवाद बेचेर ब्रह्मलुट मच्चाउन अभ्यस्त समाजवादी संस्था पनि देखिन्छन्, यसको अन्त गर्न ।
६. पठन संस्कृति प्रायः ठप्प जस्तै छ। वैचारिक बहस छलफलका कुरा दन्त्यकथा जस्तै बनेका छन् । पठन संस्कृति विकास गरी वैचारिक बहस चलाउन ।
७. कम्युनिस्टका नाममा दलाल, कमिसन खोर, भ्रष्टाचारी, व्यभिचारी, सुद खोर कामचोर प्रवृत्ति मौलाएको छ र कम्युनिस्ट आन्दोलनलाई विक्षिप्त तुल्याएको छ । कम्युनिस्ट आन्दोलन बचाउन ।
८. जनतालाई कम्युनिस्ट देख टाढा पु¥याउन देशी विदेशी शक्ति केन्द्रहरू हरेक चालबाजी खेल्दै माहिर सिकारीको रूपमा देखापरिरहेका छन् । पहिचान गर्न ।
९. अब के गर्ने त ? पहिला, समाजवादी शिक्षा अध्ययन संस्कृतिको विकास गर्ने । त्यसका लागि अध्ययन गर्ने गराउने संस्थाको निर्माण गर्ने ।
१०. कसले गर्ने ? आजका युवाहरूले कम्युनिस्ट आन्दोलनमा लागेर, कम्युनिस्ट आन्दोलनलाई जगाउन, जोगाउन र यसलाई मजबुत तुल्याउँदै वैचारिक शक्तिको विकास गर्ने जिम्मेवारी बहन गर्नु पर्दछ भन्ने भावना विकास गराउन ।

पलायन रोक्न
१. कसैले गर्दैन भनेर गुनासो मात्र ग¥यौं भने हामी कम्युनिस्ट ठहरिँदैनौं । गुनासो कमजोरीको पराकाष्ठा हो । कमजोरीले नेपालमा कम्युनिस्ट व्यवस्था फस्टाउँदैन । जहाँ कम्युनिस्ट शक्ति पलायन हुँदै जान्छ, त्यहाँ समाजवादको प्राप्ति हुन सक्दैन । यसलाई रोक्नै पर्छ ।
२. हामीले अब आजैदेखि अहिल्यैदेखि मार्क्सवादी शिक्षाका लागि एकजुट भई नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन र वामपन्थी शक्तिको विकासका लागि यो अभियानमा सहभागी हुन पर्दछ भन्ने यस आलेखको सन्देश हो ।
३. समाजवादी शिक्षा समयको आवश्यकता हो । यो एउटा प्रयास हो । हामी सबैको प्रयत्न हो । हामीले गरेपछि न हुन्छ । त्यसैले समाजवादका बारेमा यही अभियानमा होमिएपछि धेरै थाहा हुन्छ। बाहिर बसेर गफ हुन्छ, अरू केही हुँदैन । नेपालका सबै वामपन्थी बुद्धिजीवीले यसको गहनता र मर्मलाई आत्मसाथ गर्नै पर्छ र समाजवाद प्राप्तिको यस महान् अभियानमा समेटिन र जोडिनु समयको आवश्यकता बनेको छ ।

क्षमता विकासका लागि
१. समाजलाई गतिशील परिघटनाको रूपमा बुझ्ने क्षमताको विकास गर्नुपर्छ ।
२. समाजवाद प्राप्तिका लागि व्यक्ति स्वयंले आफ्नो चेतना र क्षमतामा वृद्धि गर्न जरुरी छ भन्ने कुरा बोध गर्ने। यसका लागि समयले दिएका विधि र प्रविधिको सही सदुपयोग गर्दै खोज, अध्ययन, अनुसन्धान र प्रयोगको मामिलामा सधैँ अग्र दस्ताको रूपमा काम गर्नु पर्दछ ।
३. सामूहिक एकता र सद्भावका साथ हामी सबै एकै सोच, चिन्तन, ताल, लय र शक्तिका साथ उच्च मनोबल बनाएर आन्दोलनमा सहभागी हुनु पर्दछ ।

समाजवाद बुझ्न
१. आजको युगमा समाजवाद जीवनको एक आदर्श पद्धति हो । सच्चा जीवनको अनुभूति हो। आदर्श जीवनको पर्याय हो । यो आफैमा एउटा सिद्धान्त हो । समाजवाद एक नीति हो। यो एक आस्थारुपी जीवन प्रणाली हो, जुन अरू भन्दा फरक छ, सुन्दर छ, नूतन, नयाँ, नौलो र प्रकृतिमय छ ।
२. समाजवाद श्रमजीवी, किसान मजदुर जस्ता शोषित पीडित गरिब, विपन्न र निमुखाहरूको एक महान् आन्दोलन हो । जसको प्रमुख उद्देश्य उनीहरूको उचित रूपले हक दिलाउनु हो । यो एउटा विचारधारा मात्र हैन, यो त मानव जीवनको एक वस्तुवादी आदर्श जीवन प्रणाली पनि हो ।
३. समाजवादले श्रमजीवी, किसान मजदुर जस्ता शोषित पीडित गरिब, विपन्न र निमुखाहरूका लागि आर्थिक उत्पादन पद्धतिमा सहभागी गराउँछ । यसले श्रमिकको श्रमलाई पनि पुँजी लगानी अंशको रूपमा स्थापना गरी न्याय दिलाउन उत्पादक साधनको राष्ट्रियकरणसमेत गर्ने आर्थिक व्यवस्था हो ।
४. समाजवादको चरित्र भनेको पुँजीको राष्ट्रिय चरित्र निर्माण, व्यक्तिमा स्वयंप्रति जिम्मेवारी बोधको भावना विकास, सुधार, गरिबिको अन्त, आपसी भाइचारामा वृद्धि र समानता, गरिब, विपन्न र निमुखा समुदायप्रति विशेष सहानुभूति पूर्वकको व्यवस्था गर्नु हो ।
५. समाजवाद, पुँजीवादको विकृतिले पुँजीवाद कै गर्भ गृहबाट पैदा हुन पुगेको व्यवस्था हो । यो पुँजीवादको प्रतिरोधक शक्ति बनेको वैज्ञानिक दर्शनका आधारमा परिचालित हुने राज्य व्यवस्था हो । यो यस्तो व्यवस्था हो, जसको संक्षिप्तरूपमा परिभाषा गर्नसमेत असम्भव छ। त्यसैले समाजवादलाई आन्दोलनको रूपमा हेर्ने गरिएको छ ।

निश्चित दर्शनमा आधारित
१. समाजवादभित्र निश्चित दर्शन, राजनीतिक व्यवस्था र आर्थिक प्रणाली छ। समाजवाद स्थिर र स्थायी हुँदैन। गुण, स्वभाव र चरित्रको हिसाबले हेर्दा समाजवाद प्रकृतिसँग अनुबन्धित हुन्छ। वर्ग संघर्ष नै यसको आधार हो । संघर्षले नयाँ समाजको माग गर्दछ। जहाँ, शोषणविहीन, प्रविधि युक्त, विधिले सञ्चालन हुने, भेदभाव, अन्याय अत्याचार अन्त भएको, स्फूर्त पैदा भएको जिम्मेवारी, क्रियाशीलता, रचनात्मक र सिर्जनात्मक, नयाँ र वैज्ञानिक समाजको परिकल्पना गर्दछ ।
२. समाजवादको उत्पत्ति काल्पनिक समाजवादबाट सुरु भएको पाइन्छ । काल्पनिक समाजवादी रोवर्ट ओवेनले ‘हरेक व्यक्तिमा निहित गुण र अवगुण वस्तुगत परिस्थितिले निर्धारण गरेको हुन्छ र जसको योग उसको जीवनको इतिहास बन्न पुग्दछ’ भनी भौतिकवादी अवधारण अगाडि ल्याएका थिए ।
३. सेन्ट साईमनले पनि राज्य व्यवस्थाका सम्बन्धमा सैद्धान्तिक विश्लेषण गर्दै भनेका थिए कि, हरेक एक व्यक्ति उसको योग्यता अनुसार र हरेक योग्यता उसको काम अनुसार मापन हुने गर्दछ । यसलाई समाजवादको अभिन्न र अविभाज्य पक्ष मानिन्छ। उनले नारी मुक्तिको पक्षमा भनेका छन् कि, महिला स्वतन्त्रता (मुक्ति)का आधारमा त्यो समाज कति सभ्य छ भनेर मापन गर्न सकिन्छ । यसरी भन्न सकिन्छ, समाजवादी भौतिक धारणा मार्क्सवाद पहिले पनि थियो, तर यो काल्पनिक थियो ।
४. काल्पनिक समाजवादीका बारेमा एंगेल्सले भन्नुभएको थियो कि, मार्क्सवादलाई परिपक्व पार्ने काम काल्पनिक समाजवादीहरूले गरेका छन् । उनको मत थियो कि, अपरिपक्व समयमा अपरिपक्व सिद्धान्तको जन्म हुन्छ। मार्क्सवादलाई परिपक्व बनाउन यही अपरिपक्व रूपमा प्रतिपादन भएका समाजवादी सिद्धान्तले सहयोग ग¥यो ।

सपना देख्न सक्न
१. समाजवादको परिकल्पना, एउटा शोषणरहित समाजको सपनाबाट सुरु भएको यात्रा हो । लेनिनले पनि भन्नु हुन्थ्यो ‘सपना देख्न सक्नु पर्दछ’। मार्क्सभन्दा अगाडिका रोवर्ट ओवने, चाल्र्स फूरिए, सेन्ट साइमन, फ्रान्सेली बेकन जस्ता समाजवादी दार्शनिकहरूले देखेको सपनाले मार्क्सवाद जन्मायो । जुन वेला शोषणमा परेका सर्वहारा मजदुरहरू आफू मानिस हो वा हैन भन्नेसम्मको अवस्थामा पुगेका थिए । मानवमाथि मानवले गरेको अत्याचार र मानिसलाई दिएको पिडा देख्न र सहन नसकी पुँजीवादीहरूबाटै समाजवादको परिकल्पना हुन पुग्यो ।
२. सत्ता, शक्ति, सम्पत्तिको आडमा साहु वा मालिक भएर मानिसले मानिसमाथि गरेको बर्बर यातनाविरुद्ध कस्तो शासक र शासन व्यवस्था हुन पर्दछ भन्ने चेतना दार्शनिकहरूमा जाग्यो। त्यसको खोजी गर्ने क्रममा पुँजीवादको विकल्पमा समाजवादी सोचको विकास हुन पुग्यो । त्यस समय राजा, पोप, पादरी, साहु महाजन र पुँजीपतिहरूका विरुद्ध कोही बोल्न सक्ने अवस्था थिएन। त्यसैले समाजवाद एउटा परिकल्पनको रूपमा विकास हुन पुग्यो । जसलाई काल्पनिक समाजवादको नाम दिइयो ।
३. काल्पनिक समाजवादीहरूले यातना विहीन, स्वतन्त्र शोषण रहित आफ्नो सुन्दर समाजको काल्पनिक राज्य निर्माण गरे । राज्य व्यवस्थाको सुन्दर चित्र प्रस्तुत गरे। वस्तुगत समयको अगाडि यो आफैमा एउटा ठूलो क्रान्ति थियो। त्यस चित्रलाई सामाजिक धरातलमा उभ्याउने र प्राण भर्ने सिद्धान्तको विकास एंगेल्स र मार्क्सले गरे। जसलाई हामी मार्क्सवाद भन्दछौ । मार्क्सवादले प्रकृति र समाजका पद्धतिका आधारको व्याख्या विश्लेषण गर्छ। शोषण मानवविरुद्ध मानवले चालेको चाल र जाल भएको सत्य उजागर गर्छ । शोषितहरूलाई यसविरुद्ध जुध्न र आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्न प्रेरित गर्छ । संघर्षपछि प्राप्त हुने समाजवादी राज्य व्यवस्था कस्तो हुन्छ भन्ने बारे बोध गराउँछ ।

प्राप्त गर्नभन्दा जोगाउन कठिन
१. समाजवाद प्राप्त गर्न जति कठिन छ, टिकाउन त्योभन्दा झन कठिन छ । कठिन यस मानेमा कि, मानिसले आफूलाई प्रकृतिमय तुल्याइरहन सक्नु पर्दछ । चुनौती र अवसर दुवैलाई पद्धतिको रूपमा मात्र बुझ्नु पर्दछ । आफ्ना विवेक भावना संवेदन र आचरणलाई प्रकृतिको पद्धतिमा आबद्ध गरिरहनु पर्दछ । जीवन्त बन्न सकिरहनु पर्दछ ।
२. प्रकृति परिवर्तन शील छ र जीवन पनि परिवर्तनशील छ । त्यसैले समाज पनि परिवर्तनशील छ । यो परिवर्तनशील समाजमा छिटो विकास र रूपान्तरण गरी समाज परिवर्तन गर्ने जिम्मेवारी समाजवादीले बहन गर्न सक्नु पर्दछ ।

स्वभावलाई जित्न
१. प्रकृति एकलकाँटे छैन, त्यसैले मानिसको जीवन पनि एकलकाँटे छैन । प्रकृतिको स्वभाव विपरीत मानिसको प्रवृत्ति र स्वभाव भने एकलकाँटे नै छ । यो स्वभाव मानव सभ्यताले प्रदान गरेको अणु वंशीय गुणको रूपमा मानिसको रगतका कोशिका कोशिकामा व्याप्त छ । संस्कार, संस्कृति, भाषा, सभ्यता, वंश, धर्म, जात, परम्परा आदि आदिको नाममा जमेर र रमेर बसेको छ, यसलाई जित्ने तागत राख्नु पर्दछ ।
२. समाजवादी प्रवृत्ति, प्रकृति–प्रवृत्तिको अनुबन्धित रूप हो । मानवीय प्रवृत्तिले समाजवादी प्रवृत्तिसँग दुरी कायम गर्न प्रयास गरिरहेको हुन्छ । यस्तो प्रयास अचेतन मनभित्र पनि त्यति कै जागा रहन्छ जति चेतन मनमा रहन्छ । मानिसले यो प्रवृत्तिलाई जित्नका लागि चेतन मनलाई जति सचेत पारे पनि सामान्य प्रतिकुल अवस्था आई पुग्नासाथ अचेतन मनभित्र सुषुप्त अवस्थामा रहेको प्रवृत्ति पुनः जागेर आउँछ र हाबी हुन पुग्दछ । मानिस रातारात सोच र विचारमा परिवर्तन गर्न पुग्दछ । त्यसले तुरुन्त व्यवहारमा प्रभाव परिहाल्छ । हिजो त्यही काममा सुन्दर जीवन देखिरहेको मानिस भोलि त्यही काम उसका लागि भार तुल्य, बोझिलो, दिशाहीन गतिहीन देख्न पुग्दछ । उसले त्यसैलाई आफ्नो जीवनको तगारो बनेको देख्न पुग्दछ । यस्ता सोच र प्रवृत्तिसँग सधैँ सतर्क रहिरहनु पर्दछ ।

अचेतन मनको भूत हटाउन
१. मानिस चेतनाकै कारण अस्थिर प्राणी बन्दछ । यस्तो अवस्थामा उसलाई ठिक समयमा ठिक चेतना जगाउन, निराश र हतोत्साह बनेको बेला उत्साह प्रदान गर्न सकिएन भने ऊ लक्ष उद्देश्य र मार्ग भुलेर बरालिन थाल्दछ । समाजवादी आन्दोलनमा धक्का पुग्दछ । आज समाजवाद बारम्बार थलापर्नुको प्रधान कारण यही हो ।
२. आज नेपालको कम्युनिस्ट आन्दोलनमा यही अचेतन मनको भूत पसेको छ । जसका कारण नेता तथा कार्यकर्ता सैद्धान्तिक अवधारणबाट विचलित हुँदै हरेक तहमा आफूले आफैलाई सर्वेसर्वा देख्ने, ठूला र बढाबीचको दुरीमा रमाउने, इगो, भ्रम, अहमता, दासता, भोग– विलासितालाई जीवन साधनको रूपमा देख्न प्रवृत्ति हाबी हुन पुगेको छ । यसलाई निरुत्साहित नगरे सम्म कम्युनिस्ट आन्दोलनको भविष्य छैन ।
३. नेपालको कम्युनिस्ट आन्दोलनको नैयाँ (डुंगा)लाई पार लगाउने हो र समाजवाद प्राप्तिको मार्गमा अडिग रहने हो भने देखा परेका प्रवृत्तिलाई हटाउनै पर्छ । यसलाई बढ्न दिने हैन, कम गर्दै लान पर्छ ।
४. समाजवादी समाज निर्माणका लागि समाजवादी शिक्षा आजको आवश्यकता हो । सामूहिकता, सामुदायिकता र सम–भावको आधारमा व्यक्तिको व्यक्तित्व विकास गर्ने चेतना समाजवादी शिक्षाबाट मात्र सम्भव छ ।
५. समाजवादको वस्तुवादी परिकल्पनालाई हरेक काम र व्यवहारमा समानान्तर दुरी तय गर्दै समुदायमा कम्युनमार्फत एकताको भाव र सन्देश दिँदै जानु पर्दछ। जीवनका हरेक पक्ष र पाटाहरूमा कम्युनिस्ट आचरण पद्धति र समाजवादलाई आधार बनाएर जिम्मेवारीपूर्ण रूपले व्यवस्थापन गर्दै लानु समाजवादी शिक्षा आजको आवश्यकता बनेको छ ।
६. मानिस समूहसँग रहन त खुसी हुन्छ तर सामूहिकतासँग भाग्न चाहन्छ । सुटुक्क भाग्न चाहन्छ । यो उसको हिजोको प्रकृति प्रवृत्ति हो। यो अचेतन मन भित्र छिपेको चेतना हो। यसलाई चेनद्वारा दबाउँदै स्वः अभ्यास मार्फत बदल्न सकिन्छ, सक्नु पर्दछ। अभ्यास निरन्तर शिक्षा र व्यवहार बिचको तालमेल हो । समयको हाँक चिन्ने बुझ्ने मार्क्सवादी शिक्षा आजको आवश्यकता हो ।
७. एउटा सोच्ने, अर्को भन्ने, र काम गर्दा फेरि अर्कै व्यवहार देखाउने त्रि–खुट्टे प्रवृत्ति मानिसभित्रै हुन्छ । यसलाई कम गरी जब, मन वचन र कर्म एकै भावमा समाहितको अवस्था आउँछ, तब मानिसमा मार्क्सवादी विश्व दृष्टिकोण पैदा हुन्छ। ऊ कम्युनिस्ट बन्दछ र समाजवाद प्राप्तिको आन्दोलनको सच्चा र भरपर्दो सिपाही हुन पुग्दछ ।

निरन्तर संघर्षका लागि तयार रहन
१. ज्ञानरुपी सत्य प्राप्तिका लागि जति अभ्यास गरिएको हुन्छ, प्रकृति जस्तै, त्यसलाई जीवन्त दिन पनि हरेक पल अभ्यासमा लागिरहनु पर्दछ । दैनिक व्यवहारका हरेक क्रियाकलापमा त्यसलाई सजाइ रहनु पर्दछ । यो काममा पोख्त छु, जानेको छु, भनेर मात्र हुँदैन । निरन्तर संघर्षका लागि तयार रहनु पर्दछ ।
२. हिमालले सधैँ हिउँ हुरी र पानीको सामना गरेर आफूलाई सत्य साबित गरिरहे जस्तै एउटा समाजवादीले हरेक क्षण पथ भ्रष्ट प्रवृत्ति र समाजवादी प्रवृत्ति अर्थात पक्ष र विपक्ष बिचमा अन्तर देखिरहनु पर्दछ, संघर्ष गरिरहनु पर्दछ । तब मात्र समाजवादको विकास हुन पुग्दछ ।

अध्ययन र अभ्यास
१. प्रागःऐतिहासिक समाजमा मानिस कमजोर चेतनाका कारण प्रकृति तुल्य थिए । त्यही संसारको बदलिएको रूप हो यो । प्रकृति बहुप्रतिभाशाली छ, बाहुशाली, बलशाली, बुद्धिशाली, विशाल, विराट, सहज, सरल, जटिल, कठोर, तरल, हावा जस्तै अदृश्य घाम जस्तै तेज, पर्वत जस्तै ठोस, हिमाल जस्तै अटल, अचल, पानी जस्तै नरम, माटो जस्तै लचिलो‘ आदि आदि ।
२. मानिसलाई पनि उसका हरेक गतिविधि र त्यसको प्रकृति अनुसार चल्न र चलाउन आफ्ना प्रवृत्तिले निर्देश गरिरहेको हुन्छ । कुन समय कस्तो हुँदै छ भनेर चेतना जगाउने काम नै समाजवादको अध्ययन र अभ्यास हो ।
३. अभ्यासले नै मानिसलाई सच्चा जीवन जिउने कला सिकाउँछ । सत्यको अनुभूति दिलाउँछ । जीवनको महत्त्व बुझाउँछ । समाजवाद मानव मात्रको एउटा नयाँ समाज हो । नयाँ देश हो र नयाँ विश्व हो । जहाँ मानवता बाहेक मानिससँग केही हुँदैन । न कानुन आवश्यक हुन्छ न प्रहरी अड्डा अदालत । ऊ भित्र पैदा हुने दायित्व बोधले नै उसको जीवन रेखा कोरिदिएको हुन्छ ।
४. निरन्तरको अभ्यासले मानिसभित्र रहेका प्रकृति प्रदत्त प्रवृत्तिहरू बाहिर प्रस्फुटित हुन पाउँछन् । उसले आफूलाई क्षमतावान् भएको अनुभूत गर्न सक्दछ । आफ्ना हरेक समयलाई कामयाबी र कुनै नयाँ नौले कामको थालनी गर्ने कार्यमा लगाइ रहेको हुन्छ । ऊ भित्र थप नयाँ नयाँ ज्ञानका राशिहरू वृद्धि भइरहेका हुन्छन् । ज्ञान रुपी अन्न भण्डारहरू भरिइरहेका हुन्छ ।
५. समाजवादी राज्य व्यवस्थाले व्यक्तिको स्वतन्त्र इच्छालाई अझ कामयाबी बनाउन प्रेरित गर्दछ । उनीहरूको क्षमताका हरेक अंश र अंगको सही सदुपयोग गर्ने उपायको खोजी गर्दछ । समुदायका सबै सदस्यका समान अधिकार स्थापित गर्ने काममा अझ कुशलता पूर्वक समर्पित गराउने विधि पद्धति र प्रकृतिको पक्षमा दृढता पूर्व उभिन र संघर्षका लागि पनि तयार रहन मद्दत गरिरहेको हुन्छ ।

समाजवादका जन्मदाता
१. मार्क्सलाई वैज्ञानिक समाजवादका जन्मदाता पनि भन्ने गरिन्छ । एंगेल्स र मार्क्स नै त्यस्ता पहिला दार्शनिक थिए जसले समाजको परिचालक शक्ति पत्ता लगाए। लेनिन, स्टालिन, माओ जस्ता थुप्रै समाजवादी विचारक नेता, आलोचक र समर्थक र समर्पण गर्नेहरूको संयुक्त प्रयासले समाजवाद प्रखर सिद्धान्तको रूपमा विकास हुन सक्यो ।
२. समाजको परिवर्तन पुँजीपति वर्गबाट सम्भव छैन । समाजका उत्पादक शक्ति भनेका मजदुर नै हुन्, तिनै शक्तिबाट मात्र परिवर्तन सम्भव छ भन्ने निष्कर्षमा मार्क्स र एंगेल्स पुगे। र, युगको परिवर्तन कुनै श्रेष्ठ विचार वा योद्धाले गर्न सक्दैन, बरु यो परिवर्तन उत्पादक शक्तिबाट मात्र सम्पन्न हुने दाबी गरे। उनीहरूले आफू पहिलेका समाजवादी विचारका आधारमा जुन वैज्ञानिक समाजवादको जन्म दिए त्यो नै आज विश्वका तमाम श्रमजीवी जनताको आशा र भरोसा केन्द्र बन्न पुगेको छ ।

समाजवादी समाज
१. समाजवादी समाजमा उत्पादन र वितरणका साधनमाथि सामाजिक नियन्त्रण स्थापित हुन पुग्दछ । राज्य समाजको प्रतिनिधि बनेर यी साधनमाथि नियन्त्रण र व्यवस्थापन गर्दछ । समाजवादी समाजमा राज्यको भूमिका व्यवस्थापकको रूपमा हुनेछ । समाजवाद साम्यवादी चरणमा प्रवेश गरेपछि भने स्वतः राज्यको भूमिका गौण बन्दै जान्छ । समाज, प्राकृतिक साम्यवादको अवस्थामा रहन पुग्दछ । फरक यत्ति हुन्छ कि, प्राकृतिक साम्यवाद चेतनाका कारण अभावग्रस्त भयो भने समाजवादी साम्यवाद अभाव विहीन उच्च चेतनाले लेस भएको हुन्छ ।
२. समाजवादी समाजमा आर्थिक उत्पादन साधनमाथि सामाजिक नियन्त्रण स्थापना हुन पुग्दछ । उत्पादन साधनलाई व्यक्ति विशेषमा नभई सम्पूर्ण समाजको हितमा प्रयोग गरिन्छ ।
३. समाजवादी समाजमा आर्थिक प्रगति, भौतिक साधनको विकास मात्रले हुँदैन यसमा मानिसको सुख, व्यक्तित्व विकास, आत्मसम्मानका साथै समृद्धि जस्ता कुरा हेरिन्छ । हरेक भित्रका क्षमता प्रतिभा प्रस्फुरणका अवसर प्राप्त हुन्छ ।

नेपालले लिने अबको बाटो
१. युवा पलायन रोक्नेः मार्क्स र एंगेल्सले समाजवादका लागि वैज्ञानिक सिद्धान्त र यसको कार्यान्वयनका लागि एउटा ठूलो शक्ति दिएका छन् । वैज्ञानिक सिद्धान्तको रूपमा मार्क्सवादी दर्शन छ भने विशाल शक्तिको रूपमा सर्वहारा मजदुर किसान तथा श्रमजीवी जनता छन् । हाम्रो देशको परिवेश अनुसार समाजवाद प्राप्त गर्न पहिला युवा जनशक्ति पलायन रोक्न पर्दछ । उत्पादक सेना गठन गरी उत्पादनमूलक काममा लगाउनु पर्दछ ।
२. गाउँ टोलमा कम्युन गठन गर्नेः हरके समुदायका टोल टोलमा कम्युन गठन गरी पार्टी परिचालन गर्नु पर्दछ। निश्चित कम्युनहरू बिच सहकारी स्थापना गरिनु पर्दछ । उत्पादन साधनको विकासमा राज्यले जिम्मा लिने, उत्पादक शक्तिको विकासमा कम्युनले जिम्मा लिने उत्पादन वितरण र बजारीकरणको जिम्मा सहकारीले लिने गरी आधारभूत तहमा पार्टी कमिटी र कम्युन सँगसँगै विकास गर्दै परिपूरक शक्तिको रूपमा अघिबढ्नसके मात्र समाजवाद प्राप्त गर्न सकिन्छ ।
३. समाजवादी सचेतना जगाउनेः चेतना ज्योति हो, यसले अन्धकार हटाउँछ । समाजवादका लागि समाजवादी चेतना जाग्न जरुरी छ । समाजवादी चेतनाका लागि मार्क्सवादी विश्व दृष्टिकोण स्पष्ट हुन जरुरी छ । यसका लागि समाजवादी शिक्षा अनिवार्य र आवश्यक छ ।

र, अन्तमा,
१. पुँजीपति वर्गको अधिनायकत्व कै कारण पुँजीवादी व्यवस्था कायम रहेको सत्य हो । त्यसरी नै समाजवादी अर्थव्यवस्था कायम गर्नका लागि पीडित वर्गको अधिनायकत्व आवश्यक छ । आज नेपालको कम्युनिस्ट आन्दोलन किन असफल छ भने, यसले समाजवादी क्रान्ति गर्न डराएको छ । पहिला, कारण खोज्न जरुरी छ ।
२. पुँजीपति वर्गको अधिनायकत्वमा बनेका ऐन, नियम कानुन र सयौँ वर्षको नोकरशाही तन्त्रको जालोभित्र जतिसुकै श्वेत समाजवादीहरू पनि कालो पोतिन र बाटो भुल्न बाध्य र विवश भएका छन् । यसले आम कम्युनिस्टमा निराशा पैदा गरेको छ ।
३. कम्युनिस्टमा आशा जगाउने अधिनायकवादी कानुन तोड्न नै पर्छ । वर्गीय अधिनायकत्वको सवालले प्राथमिकता पाउनु पर्छ । यसका लागि, पहिलो त १ आफ्ना शक्तिलाई समय सापेक्ष ज्ञान, शिक्षा र चेतनाबाट लेस गराउन जरुरी छ । दोस्रो, पार्टीहरूले पनि समाजवादी धारमा आफूलाई उभ्याएर कम्युनिस्ट आन्दोलन उठाउन आवश्यक छ ।
४. विदेशी दलाल पुँजीपतिको काखमा बसेर समाजवादको सपना देख्न हुँदैन । यो विश्व कम्युनिस्ट आन्दोलनको इतिहासले दुत्कारेको र परित्याग गरेको बाटो हो। सम्भावनाका विशाल फाँट तर्फ दृष्टि दिनसके नेपालमा समाजवादी आन्दोलन पुनः जाग्नेछ । यसलाई जगाऔँ । अस्तु ।।

लोकपाटीडटकमबाट