![]()
काठमाडौं । कवि भूपी शेरचनबारे लेखिएको अंग्रेजी भाषाको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ । प्रा.डा.अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् पुस्तक लेखक कविता शेरचनले उक्त पुस्तकको संयुक्तरुपमा विमोचन गरे । सो कार्यक्रममा सञ्चारकर्मी देवेन्द्र भट्टराईले लेखक शेरचनसँग पुस्तकका बारेमा केन्द्रित रहेर संवादसमेत गरे । शेरचनले आफ्ना पिता भूपीका विषयमा आमरुपमा प्रचलित कतिपय धारणा एवम् वास्तविकताबारे चर्चा गरिन् ।
उनले भनिन्, ‘मलाई एक दुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो ।’ उनले आफ्ना बुवाको रक्सी पिएको विषयमा बढी आलोचना भएको सम्झिँदै बुझ्दै गएपछि भने गर्व लागेको सुनाइन् । शेरचनले भनिन्, ‘चार पाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठूलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो ।’ उनले घरमा जति पनि मानिस आउँथे, उनीहरु सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्ता आफूले बुझेको बताइन् ।
कार्यक्रममा प्रा.डा. अभि सुवेदीले भूपीदाईलाई रक्सीसँग जोडेर लेखेको चाहिनेभन्दा बढी भएको बताए । उनले भने, ‘भूपीदाइलाई रक्सीसँग जोडेर जति लेखियो, त्यो चाहिनेभन्दा बढी थियो भन्ने मलाई लाग्छ । यो समाजमा रक्सी नखाने को छ ? यस विषयमा भूपी दाइलाई अलि बढी नै नकारात्मक रुपमा प्रस्तुत गरिनु हुन्नथ्यो भन्ने मलाई लाग्छ ।’ सुवेदीले उनैकी छोरीले लेखेको पुस्तकले आफूले बुझेका बुबा र समाजले चिनेका बुबाका सन्दर्भलाई बडो राम्रोसँग प्रस्तुत गरेको विचार व्यक्त गरे । कृषि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपीसँग सँगसँगै प्राज्ञ हुँदाको स्मरण गरे । उनले आफूलाई नेपालीमा लेख्न प्रेरित गर्ने व्यक्तित्व पनि भूपी नै रहेको सुनाए । उनले भने, ‘म विज्ञानको विद्यार्थी, रिपोर्ट आदि विषय अंग्रेजीमै लेख्नुपर्ने, नभए साइन्स नहुने । तर भूपीजीले आफूले अध्ययन अनुसन्धान गरेका विषय नेपालीमा पनि लेख्नुस् भनेपछि म नेपाली भाषामा लेखरचना लेख्नतिर लागेको हुँ ।’ श्रेष्ठले पुस्तकलाई ढाकाटोपी जसरी बुनिएको बताए । उनले भने, ‘कविरुपी भूपीका सन्दर्भलाई तानरुपी शब्दले रोचक रुपमा जोडिएको छ ।’
उनले एउटी छोरीले आफ्ना बाबुलाई तटस्थ रहेर प्रस्तुत गरेको जिकिर गर्दै अन्धविश्वास र विकृतिलाई छाडेर अगाडि बढ्नुपर्छ भन्ने सन्देशसमेत दिएको श्रेष्ठले बताए । सो अवसरमा भूपीपत्नी कान्ति शेरचनले पनि विगत सम्झिँदै भूपीले जुनसुकै रचना लेखिसकेपछि आफूलाई सुनाउने गरेको सुनाइन् । उनले भूपीको निधनको ३५ वर्षपछि छोरीले बाबुलाई सम्झिएर सुन्दर पुस्तक लेखेकोमा आफूलाई गौरवबोध भएको बताइन् । उनले भनिन्, ‘भूपीजीका विषयमा छोरीले यसरी पुस्तक लेख्दा मलाई साह्रै खुसी लागेको छ ।’ पुस्तक प्रकाशक फाइनप्रिन्टका नीरज भारीले सर्वकालीन कवि भूपीका बारेमा लेखिएको गहन कृति प्रकाशन गर्न पाउँदा निकै खुसी लागेको बताए ।
