Loading

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जना युवकलाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी गरेर पक्राउ पर्नेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेत रहेका छन् ।

प्रधानमन्त्री दाहालविरुद्ध अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई बुधबार अनुमति दिएको हो ।

पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवकको मुखसमेत थुनेको थियो । प्रहरीले युवकको मुख थुनेर बोल्न समेत नदिएर ज्यादती गरेको भन्दै धेरै आलोचना भइरहेको छ ।

अरु नै आयोजक रहेको कार्यक्रममा गएर जथाभावी होहल्ला गर्ने र विथोल्ने प्रयास भएकाले तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए ।