Loading

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई खुला पत्र लेखेका छन् । उनले फेसबुकमार्फत राखेप र सरकारलाई खुला पत्र लेखेका हुन् ।

उनले आफ्नो र अखिल नेपाल फुटबल संघ (एन्फा) का तर्फबाट भन्दै राखेप र सरकारलाई सम्पूर्ण खेलकुद गतिविधि सुरु गर्न आग्रह गरेका छन् । उनले सबै मापदण्ड पूरा गरी प्रशिक्षण सुरु गर्न अनुरोध गरेका हुन् ।

‘आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकारज्यूलाई सानो खुला पत्र लेख्न चाहन्छु । म नेपाली राष्ट्रिय टोलीका तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्याक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुरु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण रुपमा सुरु गर्न अनुरोध गर्दछु,’ ।

किरणले आफ्नो फेसबुकमा लेखेका छन्, ‘किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधैं मर्नैपर्ने हो ? मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडी सधैं काठमाडौंको धुलोमा तपाईंहरु चैं चिलो गाडीमा ?’ उनले देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको विषय मन्त्रालय, राखेप र सरकार बिर्संदै गएको आरोप पनि लगाएका छन् ।

यतिका महिनासम्म खेलाडी र खेलकुद कुन दुर्दशामा छ भन्ने विषयमा सम्बन्धित निकायलाई कुनै चासो नभएको उनले लेखेका छन् । ‘फूटबलमा भविष्य खोज्ने भाइबैनीहरुमा कतिको असर परेको छ भने कुरा प्रस्ट देख्न सकिन्छ ।

धेरैजसो देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन,’ उनले लेखेका छन्, ‘दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्युजिक भिडियोका लागि प्रवेश खुला हुने ।

फूटबलका लागि खेल्न चैं किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण खेलमैदान मा खेल सुरु गरिदिन अनुरोध गर्दछु ।’ उनले नेपाली फुटबलको लोकदोहोरी कहिलेसम्म हेरेर बस्ने भन्दै प्रश्नसमेत गरेका छन् । उनले लामो समयको घर बसाइले खेलाडीले खेल्न बिर्सन लागेको पनि बताएका छन् ।

उनले सरकारलाई फुटबल राजनीतिजस्तो नभएको सुझाए । उनले लेखेका छन्, ‘७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ । जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्यो ऊ त आजभोलि खेल मैदान छाडेर विदेश पो जाँदै छ त । लाज हुने कुरा होइन ? जय देश, जय नेपाली फुटबल ।’