![]()
–दुर्गाप्रसाद भण्डारी
हामी सामान्यतया गुरु नमस्कार भन्ने गर्दछौं । गुरु त्यो व्यक्तित्व हो जस्ले शिष्यको जीवनमा कुनै न कुनै प्रकारले प्रभाव पारिरहेको हुन्छ, मार्गदर्शन गरिरहेको हुन्छ । गुरु सजीव र निर्जीव दुवै हुन सक्दछन् । तर जबसम्म सजीव गुरुका्े प्रभाव जीवनमा पर्दैन तबसम्म निर्जीव गुरुले जीवनमा कुनै प्रभाव पार्न सक्दैनन् । त्यसैले जीवनको प्रारम्भसँगै मानिसलाई गुरुको आवश्यकता हुन्छ । त्यो पनि सजीव गुरुको । त्यसैले जीवनमा पहिलो गुरुको रुपमा आमा हुन्छिन् । आमा केवल जन्मदाता मात्र नभएर पालनकर्ता र जीवनको मार्गदर्शन कर्ता समेत हुन्छिन् । अपवादका रुपमा जन्मदिने बित्तिकै आमा गुमाएकाहरुलाई यो भूमिका हजुरआमा, फुपु, सानीआमा, ठूलीआमा, धाइआमा वा सौतेनी आमा कसैले पनि निर्वाह गर्दछन् । सडक बालबालिकाको हकमा पनि जीवनको पहिलो खुडकिलो आमा वा पालनकर्ता कसैले त्यो भूमिका निर्वाह गर्छन् र पछि साथमा रहेका अन्य कसैले त्यो भूमिका निभाउँछन् । यी अपवादहरु भएता पनि जीवनको पहिलो गुरु आम हुन् भने पहिलो शिक्षालय घर नै हो । घरका हरेक सदस्यहरु शिशु तथा बालबालिकाका लागि पहिलो गुरु नै हुन् । वास्तवमै गु भनेको अन्धकार हो र रु भनेको प्रकाश हो । त्यसैले यिनै दुईवटा शब्दको संयोजनबाट गुरु शब्दको निर्माण भएको हो । यस शब्दमा अन्धकार र प्रकाश दुवै जोडिएर आएको छ । अर्थात अन्धकारबाट प्रकाशतिर लैजाने व्यक्तित्वलाई गुरु भनिन्छ । गुरु सदैव आप्mना शिष्यको पक्षमा उभिन्छ । शिष्यका अधिकांश गल्तीहरुलाई माफ गर्ने गुरुमा महान विशेषता हुन्छ ।
हामीलाई आमाको काखबाट जब बाबुको परिचय मिल्दै जान्छ तब दोस्रो गुरुको रुपमा बाबुलाई लिन्छौं, बिस्तारै घरका अन्य सदस्यहरु गुरुका रुपमा हामीसँग जोडिन पुग्छन् । यसरी शिशु जीवनबाट जब बाल्यावस्थामा जाँदै गर्छौं जीवनका ती अनेकन गुरुहरुले हामीलाई शिक्षा दिँदै जान्छन् र हामी थाहै नपाई शिष्य बन्न पुगिसकेका हुन्छौं । शब्द उच्चारणको थालनी आमाबाटै हुन्छ भने अन्य कुराहरुमा बाबु र परिवारका अन्य सदस्यहरुको योगदान रहन्छ । यतिमात्र होइन तोतेबोलीसँगै बाल्यकालमा दृश्यमा देखिने सबै कुराहरुलाई हामी पटकपटक सोध्न पुग्छौं यो के हो ? त्यो के हो ? यो किन छ ? त्यो किन छ ? यो कहाँबाट आयो ? त्यो कहाँबाट आयो ? यस्तै तमाम प्रश्नहरु ती गुरुहरुलाई सोधिन्छ । पटकपटक उही कुरा सोधिन्छ अनि उही एउटै कुराको पनि पटक पटक जवाफ दिइन्छ । जति प्रश्न गर्यो उति रमाइलो मान्दै जीवनका पहिलो चरणका ती सबै गुरुहरुले उत्तर फटाफट दिँदै जान्छन् । कुनै झर्को नमानी प्रश्नहरुको उत्तर दिने गर्दछन् । बालकरुपी शिष्यले पनि आपूmलाई याद नहुन्जेलसम्म ती प्रश्नहरु सोधी रहन्छ । यो क्रम निरन्तर चलिरहन्छ । यसबेला यी सबै क्रियाकलापहरु केवल श्रूतिगम्य भाषामा हुन्छन् । जब बाल्यवस्थाको दोस्रो चरण आउँछ, जीवनउपयोगी शिक्षाका लागि विद्यालयमा भर्ना भइन्छ ।
यस्तै शिष्य भनेको शिक्षक वा गुरुद्वारा कुनैपनि प्रकारको शिक्षा लिने व्यक्ति, विद्यार्थी वा शिक्षार्थी हो । सिकाउन वा सघाउन योग्य व्यक्तिलाई पनि शिष्य भनिन्छ । त्यसैले हामी सबै हाम्रो वरिपरिका दृश्यमान जगतका पनि शिष्य हौं । तर आमा, बुवा, अन्य घरका सदस्यहरुका पनि हामी जान अन्जानमै शिष्य बनिरहेका हुन्छौं उनीहरुबाट हामी अनेक प्रकारका शिक्षा ग्रहण गरिरहेका हुन्छौं । त्यसैले मुर्त वा अमुर्तरुपका गुरुहरुको शिक्षा हाम्रो जीवनमा परिरहने हुनाले हामी ती सबैका आशिंक रुपमा भएपनि शिष्य बनिरहेका हुन्छौं । शिक्षा नै जीवनको मार्गदर्शनको एक कडी भएकाले पनि हामीले शिष्यका रुपमा शिक्षा ग्रहण गररहेका हुन्छौ । तसर्थ केकस्तो शिक्षा ग्रहण गर्ने भ्न्ने कुरा शिष्यमा नै निर्भर रहन्छ ।
विद् धातुमा आलय प्रत्यय लागेर समास प्रक्रियाद्वारा विद्यालय शब्दको निर्माण भएको हो । विद् भनेको ज्ञान, बुद्धि, ज्ञान बुद्धि भएकोलाई ज्ञाता, जान्ने, जानिफकार, विद्वान, पण्डित आदि भनिन्छ । त्यसैगरी आलय भनेको घर, गृह, वासस्थान, गृह, ठाउँ, स्थान, आश्रय, आधार आदि हुन्छ । त्यही विद्मा आलय प्रत्यय लागेर विद्द्यालय बन्दछ । शास्त्रअनुसार विद्या आर्जन गरिने स्थान, पढ्ने र पढाउने ठाउँ वा पाठशाला आदिलाई विद्यालय भनिन्छ । सामान्य बोलचालको भाषामा पनि यही नै भनिन्छ । विद्यालय पनि औपचारिक र अनौपचारिक दुई प्रकारका हुन्छन्, बढीजसो विद्यालय औपचारिक नै हुन्छन् । जहाँ गुरु(अध्यापक, प्रधानाध्यापक, आचार्य प्राचार्य)हरु हुन्छन् । त्यहाँ निश्चित मापदण्ड तोकिएको हुन्छ । कक्षागत सिकाईका लागि औपचारिक रुपमासमय पनि निर्धारण गरिएको हुन्छ । त्यतिमात्र होइन कक्षागत तह समेत समयावधी सहितको बनाइएको हुन्छ । शिक्षार्थीहरु योग्य भए नभएको जाँच्नका लागि विभिन्न प्रकारका मापनहरु बनाइएका हुन्छन् । साप्ताहिक, मासिक, त्रैमासिक, अद्र्धवार्षिक र वार्षिकरुपमा मापन गरिन्छ र शिक्षार्थी सिकाई क्रियाकपालमा योग्य भए नभएको जाँचिन्छ । जाँचमा सफल भएमा कक्षागत वृद्धि गरिन्छ असफल भएमा सोही कक्षामा नै पुनरावृति गरिन्छ । वर्तमान परिप्रेक्ष्यमा यी सबै क्रियाकपालहरु लागि विद्यालयमा नै गरिन्छन् । विद्यालयका पनि विभिन्न प्रकारहरु रहेका छन् । सबैभन्दा पहिलो खुडकिलो बालकक्षा हुन्छ जुन प्राथमिक विद्यालय वा बाल विद्या मन्दिरमा गरिन्छ । त्यसपछि निम्नमाध्यमिक तहमा निम्न माध्यमिक वा आधारभूत विद्यालय हुन्छ । यस्तै माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरु हुन् । यी सबै विद्यालयहरु औपचारिक शिक्षाका लागि हुन् । यस्तै अनौपचारिक शिक्षाका लागि पहिलो विद्यालय घर नै हो । बाल्यअवस्थामा शब्दको उच्चारण घरमा नै हुन्छ । आमारुपी शिक्षकले त्यो सिकाई क्रियाकलाप शुरु गर्नुहुन्छ । त्यसपछि बुबा, दाजु, दिदी लगायतका आफन्तजनहरु पनि शिक्षक तथा अतिथि शिक्षकका रुपमा घररुपी विद्यालयमा सिकाई क्रियाकलापमा मार्गदर्शक बन्दछन् । यसरी औपचारिक र अनौपचारिक दुबै प्रकारले शिक्षा आर्जन गर्न सकिन्छ ।
यतिमात्र होइन सजीव तथा निर्जिव प्राणी एवं बनस्पतिबाट पनि शिक्षा लिन सकिन्छ । यो नितान्त अनौपचारिक र आत्मगत हुन्छ । एउटा पूmलबारीमा फुलिरहेका सुन्दर फुलले दिएको सुन्दरताबाट एक प्रकारको शिक्षा लिन सकिन्छ भने त्यस फुलबारीमा रहेका हरेक प्रकारका सानाठूला पूmलहरुबाट एक प्रकारको आत्मगत शिक्षा लिन सकिन्छ । तर मानिसले ती पूmलहरुबाट लिएको शिक्षा समाजमा उतार्छ कि उर्तार्दैन । पूmलबारीमा मिलेर सुन्दरता दिइरहेका सबै फुलहरुको महत्व उत्तिकै हुन्छ भन्ने शिक्षा प्राप्त गरेको मानिसले समाजमा रहेका सबै मानिसको महत्व पनि उत्तिकै हुनछ भन्ने शिक्षा ग्रहण गर्दछ यसैलाई बनस्पतिबाट लिन सकिने शिक्षा मान्न सकिन्छ । यस्तै डलिफन नामक जलचर प्राणीले पानीमा बग्न थालेको मानिसलाई बचाउँछ, सर्पले पनि नचलाई टोक्दैन यस्ता कुराहरुले पनि मानिसलाई गहिरो शिक्षा दिइरहेका हुन्छन् । तर यी सबै शिक्षा भौतिक गुरुको मार्गदर्शनपछि मात्र जब मानिसको विवेक खुल्छ तबमात्र सम्भव हुन्छ । तसर्थ हामीले जेजति दृश्यमा देख्दछौं ती सबै शिक्षाका लागि स्रोत नै हुन् ।
यसकारण मानिसलाई जन्म दिने गुरु पहिलो गुरु हुन् भने जिविका उपार्जन गर्न सिकाउने गुरुहरु दोस्रो महत्वपूर्ण गुरु हुन् । विद्यालय जीवनदेखि विभिन्न सीपमूलक सीप सिकाउने गुरुहरु यसै वर्गमा पर्दछन् । त्यस्तै अध्यात्मप्रेमीहरुका लागि जीवनजगतको बन्धनबाट मुक्ति दिने गुरु तेस्रो गुरु हुन् र जस्ले जन्मनु र मर्नु तथा सीप सिकेर जिविकोपार्जन गर्नुपर्ने बसैप्रकारका बन्धनबाट छुटकारा दिलाउँछन् । त्यसैले तीनप्रकारका गुरुहरु हुन्छन्। समय अनुसार यी तीनै प्रकारका गुरुहरु निकै महत्वपूर्ण छन् । यस्तै घर पनि एउटा विद्यालय हो । औपचारिक शिक्षा लिने स्थलमा रहेको भवन पनि एउटा विद्यालय हो र समाज पनि एउटा विद्यालय हो प्रकृति पनि एउटा विद्यालय हो । यी सबै प्रैकारका विद्यालयमा गएर शिक्षा ग्रहण गर्न सकिन्छ । त्यसैले गुरु शिष्य र विद्यालय एक अर्काका परिपूरक छन् । एक विना अर्को अधुरो र अपुरो रहन्छ ।
(लेखक विगत २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आउनु भएको छ)
