Loading

टीकापुर। सुदूरपश्चिम प्रदेशको प्रतिनिधि सभामा सत्तागठबन्धन दलमा नेकपा माओवादीलाई नोक्सान र नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादीलाई फाइदा भएको छ ।

यो परिणाम यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट भएको हो । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको १६ निर्वाचन क्षेत्र मध्ये १५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने बाजुरामा मतदान स्थगित भएपछि नतिजा आउन बाँकि छ ।

सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले ७, नेकपा (एकीकृत समाजवादीले ३, नागरिक उन्मुक्ति पार्टीले ३ र नेकपा एमालेले २ स्थानमा जित हासिल गरेको छ । सत्ता गठबन्धन दल कांग्रेसले ७ र एकीकृत समाजवादीले ३ सिट जित्दा नेकपा माओवादी केन्द्र भने शुन्य रहेको छ । यस परिणामले सत्ता गठबन्धनमा इमान्दिारिता नभएको प्रष्ट भएको छ ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभाको १ सिट मात्रै जितेको नेपाली काँग्रेसले ७ सिटमा जित हासिल गरेपछि सबैभन्दा फाइदा उसैलाई भएको छ । २०७४ मा बाम गठबन्धन हुँदा ३ सिट जितेको माओवादी केन्द्रले यस गठबन्धनमा रहँदा यो निर्वाचनमा १ सिट पनि जित्न सकेन । स्वयं प्रचण्ड बुहारी विना मगर समेत नराम्ररी पराजित भएकी छन् । जस्का लागि प्रचण्डले गठबन्धन गरेका थिए उनै पराजित भइन् । यसले गर्दा आगामी सरकार गठनमा समस्या हुने देखिएको छ ।

सत्ता गठबन्धन दलको भागबण्डामा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसले ९, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले ३ सिट पाएको थियो । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा डडेलधुराबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा,कैलाली ४ बाट वीरबहादुर बलायर,दार्चुलाबाट दिलेन्द्रप्रसाद बडू,कञ्चनपुर ३ बाट रमेश लेखक,कञ्चनपुर २ बाट एनपी साउँद,अछाम २ बाट पुष्पबहादुर शाह र कैलाली ५ बाट डिल्लीराज पन्त विजयी भएका छन् ।

त्यस्तै गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीको संगठन कमजोर भएपनि गठबन्धनकै बलमा ३ सिटमा जित हात पारेको छ । अछाम १ बाट शेरबहादुर कुँवर,बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

स्थानीय निर्वाचन अघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीले भने कैलालीका ३ क्षेत्रमा विजय हासिल गरेको छ । उसले कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी विजयी भएका छन् ।

२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा एमालेले ११ सिट जितेको नेकपा एमाले सत्ता गठबन्धनको घेराबन्दीका वीच पनि दुई सिट जित्न सफल भएको छ । उसले बैतडीबाट पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी र कञ्चनपुर १ बाट तारा लामा तामाङ विजयी गराएको छ । लामाले प्रचण्ड बुहारी एवं पूर्वमन्त्री विना मगर र भण्डारीले नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्र कुँवरलाई पराजित गरेका हुन् ।

यस्तै कैलाली १ मा नागकि उन्मुक्ति पार्टीका अरुण चौधरीले नेकपा माओवादी केन्द्रका उम्मेद्वार भगत बडुवाल र ३ मा उन्मुक्तिकै गंगाराम चौधरीले माओवादीकै कृष्ण कुमार चौधरीलाई पराजित गरेका हुन् ।

नेकपा माओवादी प्रतिनिधि सभातर्फ सुदूरपश्चिम प्रदेशमा शुन्यमा आउट भएपछि उसका कार्यकर्ताहरुले सत्ता गठबन्धनमाथि धोका दिएको आरोप लगाएका छन् । अघिल्लो निर्वाचनमा १ सिट जितेको नेपाली काँग्रेसलाई भने गठबन्धन फलिफाप भएको छ ।