Loading

धनगढी/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई जनताले तिरस्कार गर्ने बताए ।
नेकपा एमाले कैलाली जिल्ला कार्यसमितिले शनिबार अत्तरियामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उक्त अवसरमा उनले गठबन्धनका मुख तीनतिर भएकाले उनीहरु आफै समाप्त भएर जाने बताए । सत्ता गठबन्धनमा एकअर्कासँग विश्वास नभएका कारण एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । नेपालको पहिलो पार्टी नेतृत्वकै कारण समाप्तितिर गइरहेको बताए । पार्टी कब्जा गर्ने र पार्टी फुटाएर शक्ति आर्जन गरी सत्तामा रमाउनेहरुको साथ भएकाहरुले कहिल्यै देशको भलो हुन नदिने उनले बताए ।
अर्को एक प्रसँगमा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल समाप्त हुने बताएका छन् । एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएको बताए । उनले भने, ‘एमाले सिध्याउँछु भन्नेहरु आफैं सिद्धिँदै गएका छन् । माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन्। माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन् । माधव नेपालको पार्टी खरानीको डल्लो हो ।’
अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन् । उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने फेरि दाबी गरेका छन् ।
यस्तै कैलालीको लम्कीमा भएको चुनावी आमसभालाई सम्वोधन गर्दै उनले एमाले पहिलो शक्ति भएरै छाड्ने बताए । जनताले नेकपा एमालेलाई साथ दिँदै आएकाले यसपटक पनि विकास र समृद्धिका लागि नेकपा एमालेलाई नै निर्वाचनमा भोट दिने दाबि गरे ।
उनले टुटफुट भएर जानेहरुलाई जनताले दण्ड दिने बताए । एमालेले तल्लो तहबाट उठाएर माथि पुगेकाहरु अहिले एमाले विरुद्ध लागेको प्रति व्यंग गर्दै जनताले त्यस्तालाई दण्ड दिएरै छाड्ने बताए । हिजो एमाले हुँदा नाम कमाएकाहरु अहिले दाम कमाउन नपाएपछि पार्टी छाडेर गएको बताए । 
यसअघि नेकपा एमाले अध्यक्ष ओली डोटीमा चुनावी आम सभालाई सम्वोधन गरेका थिए । उनले त्यहाँ सवेधन गर्दै नेपालको पुरानो राजधानी डोटी भएको बताए । डोटी अहिले पनि नेपालको महत्त्वपूर्ण जिल्ला रहेको बताउँदै उनले प्राचीन राजधानी रहेको बताए । डोटी इतिहास बोकेको जिल्ला भएपनि पछाडी परेको बताए । नेकपा एमालेले जितेमा अब डोटी पछाडि नपर्ने उनले दाबी गरे ।
उनले धनगढी–दीपायल द्र्रुतमार्ग, सेती लोकमार्ग, पश्चिम सेती जस्ता ठुला आयोजना एमालेको सरकारले चाँडै निर्माण गर्ने बताए । त्यसका लागि एमालेका उम्मेद्वारहरुलाई भोट दिन उनले आग्रह गरे ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको टोली सुदूरपश्चिम पुगेको एकसाता नबित्दै एमाले अध्यक्ष ओली सुदूरपश्चिम पुगेका हुन् । उनी एकसाता पहिले मात्र सुद्ररपश्चिमको महेन्द्रनगर र दार्चुला लगायतका जिल्लामा चुनावी सभालाई सम्वोधन गरी फर्केका थिए ।