Loading

काठमाडाैं । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो ।

नेपालका लागि सुशिला केसीले गोल गरिन् । बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन् । पहिलो हाफमै १-० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन भने सकेन ।

ढाकास्थित बीएसएसएसएमके स्टेडियममा खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाएकी थिइन् । अन्तिम मिनेटमा नेपालले पेनाल्टी बचाएपछि उपाधि नेपालको पक्षमा गएको हो । त्यसअघि ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल गरेकी थिइन् ।

विपना स्नेहीले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बंगलादेश गोल गर्न चुकेको थियो । प्रतियोगितामा अपराजित नेपालले चार खेलबाट ३ जित र एक बराबरीसहित १० अंक जोडेको छ ।

आयोजक बंगलादेश २ जित र १ बराबरीसहित सात अंकमा सीमित रहदै दोस्रो भयो। तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो ।नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो भने भुटान विरूद्ध १-० र ७-० को जित निकालेको थियो ।

2