Loading

टीकापुर। विगत तीनदिनदेखि आएको अविरल वर्षाका कारण कैलाली कञ्चनपुरमा हजारौँ घरहरु डुबानमा परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, लम्कीचुहा, गोदावरी नगरपालिका, कैलारी, जानकी, जोशीपुर गाउँपालिका लगायतका क्षेत्रमा हजारौँ घरहरु डुबानमा परेका हुन् ।

सबैभन्दा बढी भजनी नगरपालिकामा क्षति भएको छ । नगरपालिकाको कुनै पनि वडा डुबानबाट अछुतो रहेका छैनन् । दक्षिणमा मोहना, उत्तरमा काँढा, पूर्वमा पथरैया र पश्चिममा कन्द्रा नदीका कारण भजनी नगरपालिका डुबानमा परेको हो । चारैतिरबाट नदीले घेरिएको भजनी नगरपालिकाका वडा नं ३, ८, ५ पूर्णरुपमा डुबानमा परेका हुन् । यसैगरी वडा नं १, २, ४, ६, ७ र ९ का अधिकांश भागहरु डुबानमा परेका हुन् ।

स्थानीय सुरेन्द्र जैसीका अनुसार २०४० सालको भन्दा बढी बाढी आएको छ त्यस समयमा बाढीबाट सुरक्षित रहेका लालबोझी, भजनी, खैलाड र भजनीका विभिन्न स्थानहरु यसपटक डुबानमा परेका छन् । वडा नं ३ का वर्दहवाफाटा, दैलेखीटोल, कुसुमघाट, कन्हैयापुर, पकरिया डाँडा, ठेकीपुर, पडरिया, धुसी डुबानमा परेका छन्भने वडा नं ८ का काँढाढीक, सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घरधुरी,वडा नम्बर–५ स्थित रहेको कान्द्रा नदीको पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घरधुरी डुवानमा परेको छ ।

सोही वडाका कुटी गाँउ, वडा नं। ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपुर्वा टोलका अन्दाजी २५० घरधुरी डुबानमा परेको छ । वडा नं। १ भजनी बजार स्थित रहेका २५ वटा पसल, वडा नं। ३ पडरिया स्थित २५ घर र ५–७ वटा पसलमा वर्षातको पानी जम्मा भएको प्रहरी जनाएको छ ।धनगढी उपमहानगरपालिका–१३ श्रीलंका टोलस्थित मोहना नदीमा पानीको बहाव बढ्न गई मोहना नदीको छेउछाउमा रहेका १४ घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलारी गाउँपालिका– ७ रामपुर र बसन्तास्थित ६० वटा घर, वडा नं। ८ खल्ला टोल, खैरी टोल, कुटि टोल र वडा नं। ५ बन्द्रगौरीमा ११५ घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । त्यसैगरी कैलारी गाँउपालिका वडा नं ३ खोनपुरस्थित मोहना नदीमा निर्माणाधिन अवस्थामा रहेको झोलुंगे पुलको पिल्लरहरु नदीले कटान गरी बगाएको छ ।

त्यसैगरी जोशीपुर गाउँपालिका–४ स्थित पथरैया र घैला खोलाको पानीको बहाव बढ्न गई केरा बारीमा पस्न ८ घर ढुबानमा परेको र उक्त घरधुरीका मानिसहरुलाई सुरिक्षित स्थानमा सारेको वडा नंं। ३ स्थित पर्ने काँडा नदीमा पानीको बहाव बढन गई भित्रिया, फाडिया, मनिकापुर, हस्नापुर, बन्जरिया,भगरैया लगायतका गाँउमा नदीको पानी पस्न गई ३०० घरधुरी डुबानमा रहेको, वडा नं। ४ स्थित पथरैया नदीले झपही, खैरेनी टोलका अन्दाजी ९० घरधुरीमा पानी पसेको प्रहरीले जनाएको छ ।

जानकी गाँउपालिका वडा नं। ४ मुनुवा, बेलपुर, गिरधरपुरमा ६४ घरमा र वडा न। ७ फरेलामा १६ घर गरी ८० घर आंशीक डुबानमा परेको र सो ठाउँका मानिसहरुलाई सामुदायिक भवनमा ६०–७० जना बसेका तथा र अन्य आफन्त तथा छिमेकिको घरमा सुरक्षित बसेको जनाइएको छ ।

लम्कीचुहा नगरपालिका–९ पथरैया नदीको पानीले बनबर्षा, सोहनपुर र धनजयाका १२ वटा घर डुबानमा परेको, गोदावरी नगरपालिका–३ मालाखेतीमा घर डुबानमा परेको उक्त घरमा रहेका मानिस तथा चौपायाको सकुशल उद्धार गरी आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ ।

एकजना घाईते

जिल्लाको टीकापुर नगरपालिका– २ बिजयनगरका २२ वर्षीय शिशिर चौधरीको कच्ची घर भत्कन गई घाइते भएको प्रहरीले जनाएको छ । चौधरीको टाउको र छातीमा चोट लागेकाले उपचारको लागि आफन्तले टिकापुर अस्पतालमा ल्याएको र थप उपचारका लागि कोहलपुर बाँके रेफर भएको प्रहरी जनाएको छ ।